बुधबार, वैशाख १२, २०८१
07:24 | १२:०९

डा केसीले दर्ता गरे एनआरएनए अध्यक्षको उम्मेद्वारी

नेपाली लिङ्क मार्च ९, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

आगामी अध्यक्षका लागि सबैभन्दा बलियो ठानिएका दाबेदार डा केसीले गैरआवासीय नेपाली संघको यही मार्च २४ र २५  मा हुने निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ता गरेका हुन् ।

डा केसीले गैरआवासीय नेपाली संघको स्थापना कालदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिएको बताए । उनले संस्थागत शुद्धिकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सन् २००३ देखि नै एनआरएन अभियानमा होमिएका डा. केसी २००७ सम्म आइसिसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि २००७ देखि ००९ सम्म आइसिसी रुसको महासचिव भएर काम गरेका उनी २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) प्रवेश गरे । २००९–२०११, २०११–२०१३ गरी दुई कार्यकाल आइसिसी सदस्य रहेका उनी २०१३ – २०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव र २०१९ – २०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिएका हुन् । बायो टेक्नोलोजीमा मस्कोबाट २००१ मा पिएचडी गरेका उनको रशिया र नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय र लगानी छ ।

एनआरएनएको भावी अध्यक्षका लागि अमेरिकाकी रविना थापाले पनि उम्मेद्वारी दर्ता गरिसकेकी छन् । अर्का प्रत्यासी कुल आचार्यले भने डेलिगेट सूचीमा असन्तुष्टि राख्दै यथावस्थामा निर्वाचन हुन नसक्ने बताइरहेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू