शनिबार, वैशाख ८, २०८१
08:22 | १३:०७

युक्रेनका ५६२ नेपाली सुरक्षित स्थानमा

नेपाली लिङ्क मार्च ८, २०२२

लन्डन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेका छन् ।

हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ र ४ जना माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट बिस्थापित भै बिभिन्न देशका सिमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतिर भागेका छन् ।

ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राजकुमार थापाले जानकारी दिए । थापाका अनुसार ती नेपालीहरुलाई एनआरएन पोर्चुगलले आवश्यक कानूनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ ।

यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित रुपमा पोल्याण्डको सिमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरन्जीबी खड्काले जानकारी दिए ।

यसअघि उद्धार र राहत कार्यमा समन्वय गर्न जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा र गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसीको संयोजत्वमा गठित एक उच्चस्तरीय समिति सकृय छ ।

युद्धबाट विस्थापित नेपालीहरुको उद्धारको लागि राजदूत खड्का, एनआरएनए अध्यक्ष कुमार पन्त सिमा क्षेत्रमा आफै खटिएका थिए । युक्रेनबाट विस्थापितहरुलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरुलाई भारत सरकारबाट संचालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहल समेत भैरहेको जनाएको छ । उद्धार समितिले  युक्रेनबाट विस्थापित भएका नेपालीहरुको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू