शुक्रबार, चैत १६, २०८०
14:51 | २०:३६

गोर्खा वार्ताका लागि बेलायती रक्षा मन्त्रालयलाई नेपालको आव्हान

नेपाली लिङ्क मार्च ७, २०२२

बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायतको रक्षा मन्त्रालय (एमओडी) लाई पत्र लेख्दै भूतपूर्व गोर्खाहरुको माग सम्बन्धमा त्रिपक्षीय वार्ताका लागि आव्हान गरेको छ ।
बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले एमओडीलाई नेपाल सरकार र भूतपूर्व गोर्खाप्रतिनिधिका तर्फबाट वार्ताका लागि भएको गृहकार्यबारे औपचारिक जानकारी दिंदै ब्रिटिश पक्षको तयारी सम्बन्धमा जिज्ञासा राखेका हुन् ।
नेपालको मन्त्रिपरिषदले केही दिनअघिमात्र राजदूत आचार्यलाई गोर्खा प्रतिनिधिसम्मिलित ‘जिटुजी’ वार्ताका लागि नेतृत्व गर्न जिम्मा दिने निर्णय गरेको थियो ।
‘बेलायती पक्षलाई पत्र लेखेर हाम्राबारे भइरहेको तयारी अवगत गराएका छौं’, राजदूत आचार्यले आइतबार नेपाल पत्रकार महासंघ बेलायतको स्वागत कार्यक्रममा भने, ‘ब्रिटिश पक्षबाट पनि कहिले प्रक्रिया अगाडि बढ्छ जिज्ञासा राखेका छौं । यो लामो नेगोसिएसनबाट हुने भएकाले समय लाग्न सक्छ तर अब गोर्खा समस्याको दीर्घकालिन समाधान खोज्न हामी प्रयत्नरत छौं ।’
दूतावासले गोर्खा संगठनका तर्फबाट वार्ता समितिमा बस्ने अभियन्ताहरुको नाम समेत दिएको जनाइएको छ । राजदूत आचार्यले आफूलाई सरकारबाट कतिसम्म निर्णय गर्ने अधिकार दिइएको छ भन्नेबारे चाहिं खुलाएनन् ।
नेपाल सरकारका तर्फबाट वार्ताको नेतृत्व गर्ने जिम्मा पाए लगत्तै राजदूत आचार्यले शुक्रबार गोर्खा संगठनका अभियन्ताहरुसंग छलफल गरेका थिए ।
छलफलमा गोर्खा सत्याग्रह संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस), नेप्लिज एक्स सर्भिसमेन एशोसिएसन (नेसा) र गोर्खा जस्टिस ग्रुपआवद्ध दश जना गोर्खा अभियन्ता सहभागी थिए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू