शनिबार, वैशाख १५, २०८१
21:36 | ०२:२१

बेलायत आएर पनि नेपाली स्नुकर खेलाडी विश्व च्याम्पियनसीप खेल्न वञ्चित

नेपाली लिङ्क मार्च ४, २०२२

लण्डन । इंग्ल्याण्डमा स्नुकरको विश्व च्याम्पियनसीप प्रतिष्पर्धा नेपाली खेलाडीका हकमा चानचुन होइन । तर दुर्भाग्य लामो प्रयत्नपछि बेलायत आइपुगेका नेपाली स्नुकर खेलाडीहरु विश्व च्याम्पियनसीप प्रतिष्पर्धाबाट वञ्चित भए । 

आयोजक वर्ल्ड स्नुकर फेडेरेशनले समयमै निम्तो पठाएपनि भिजा ढिलाइले खेलाडीहरु प्रतियोगितास्थल सेफिल्ड पुगेर पनि खेल्ने अवसरबाट वञ्चित रहे । 

नेपालबाट प्रतिष्पर्धाका लागि आएका खेलाडीहरु अंकितमान श्रेष्ठ, राजन लामा, निर्मल बोगटी र दीपक मगर यतिखेर बेलायतमा छन् । 

भिजा आवेदन, हवाइ टिकट, इंग्ल्याण्डमा खान बस्न खर्च र सहभागितावापत फेडेरेशनलाई बुझाउनुपर्ने शुल्क आदि आफैंले बेहोरेर आएपनि प्रतिष्पर्धामा उत्रिन नपाउंदा खेलाडी खिन्न देखिन्थे । उनीहरुको झन्डै २० लाख रुपैयां खेर गयो । 

उक्त प्रतिष्पर्धामा ४२ देशका २ सय ७७ खेलाडी सहभागी भएका थिए ।

बिलियार्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालका अध्यक्ष सरोजकुमार मुल्मीले नयां दिल्लीबाट भिजा समयमा नआउंदा हाम्रा खेलाडीले इंग्ल्याण्डमा विश्व च्याम्पियनसीपको अवसर गुमाएको जनाए । 

‘गत १९ फेब्रुअरीमा प्रतियोगिता तय थियो । खेलाडीको भिजा आउन ढिला भएपछि हामीले फेडेरेशनलाई आग्रह गर्दा २१ फेब्रुअरीसम्म सार्न माने तर २१ फेब्रुअरी बिहान साढे १० बजे बल्ल भिजा आएर हतार हतार आउंदा भ्याइएन’, मुल्मीले भने । 

बिलियार्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालका अध्यक्ष सरोजकुमार मुल्मी

आवेदन दिएको झण्डै २७ दिनमा भिजा आइदिएर इंग्ल्याण्डमा नेपालीले खेल्ने सपना चकनाचुर भएको गुनासो मुल्मीले गरे । ‘हामीले यहांसम्म आउन धेरै गृहकार्य र प्रक्रिया पुरा गरेपनि सम्भव भएन । अब बेलायत आइसकेपछि कम्तीमा खेलाडीलाई प्रशिक्षण व्यवस्था गराउन वर्ल्ड स्नुकर फेडेरेशनसंग छलफल भइरहेको छ’, मुल्मीले भने । 

राज्यको उपेक्षा र श्रोत साधन पर्याप्त नभएपनि नेपाली खेलाडीले राम्रो प्रदर्शन गरिरहेको संघको भनाइ छ । 

नेपाली खेलाडीले चण्डीगढमा जुनियर एसियन गेम्सदेखि म्यानमारको एसियन च्याम्पियनसीपमा टप १७, बंगलादेशमा आयोजित साफ गेम्समा ‘अप कमिङ अवार्ड’ र दोहामा ८४ खेलाडीले भाग लिएकामा ४३ औं स्थान सुरक्षित गरेका थिए । टर्कीमा खेल्न अफर आएपनि आर्थिक समस्याका कारण नेपाली खेलाडी उता भने गएनन् । 

नेपालका खेलाडीको प्रतिनिधित्व र हकहितका लागि कार्यरत बिलियार्ड स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपाल इन्टरनेशनल बिलियार्ड एण्ड स्नुकर फेडेरेशन (आइबीएसएफ) को सदस्य छ । 

आइबीएसएफले नै नेपाली खेलाडीको प्रदर्शन उत्कृष्ट रहेको भन्दै इंग्ल्याण्डमा हुने वर्ल्ड च्याम्पियनसीपमा सहभागिताका लागि सिफारिस गरेको मुल्मीले स्मरण गरे । मुल्मी साफ गेम्समा सहभागिता जनाउने पहिलो नेपाली स्नुकर खेलाडी हुन् । उनले मकाउ र भियतनाममा पनि सहभागिता जनाइसकेका छन् । 

‘मैले खेल्न शुरु गर्दा तीनदशक अगाडिसम्म काठमाडौंमा तीन-चारवटामात्र पुल क्लब थिए । अहिले यो संख्या हजारौं छ र स्नुकर खेल ७७ जिल्लामै खेलिन्छ’, उनी भन्छन्, ‘तर, नेपाल सरकारले यस खेललाई चासो नै दिएन । खेलाडीहरु आफ्नै परिश्रमले यहांसम्म आइपुगेका हुन् ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू