शुक्रबार, चैत १६, २०८०
11:30 | १७:१५

गेसो सभापति राईको अपिल: कार्यगत एकताप्रति प्रतिवद्ध बनौं, एक्ला-एक्लै नहिडौं

नेपाली लिङ्क मार्च २, २०२२

गेसो सभापति कृष्णकुमार राई

लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राईले भूतपूर्व गोर्खा संगठनहरुबीच बनेको कार्यगत एकताको सहमतिप्रति प्रतिवद्ध रहन सन्बन्धित सबैमा अपिल गरेका छन्।  

सयौं वर्षदेखि गोर्खाहरुमाथि हुँदै आएको विभेद अन्त्यको लागि अहिले ऐतिहासिक अवसर रहेको भन्दै उनले यसलाई सदुपयोग गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन्।  

गोर्खाहरुको पक्षमा क्रियाशिल प्रमुख संगठनहरुबीच कार्यगत एकताको सहमति बनिसकेको सन्दर्भमा सबै संगठनहरु आपसी सल्लाह र सहकार्यमै अघि बढ्नुपर्ने उनको भनाइ छ ।  

‘कार्यगत एकताका लागि हामीबीच सहमति भइसकेको छ । यो सहमतिलाई अब चांडै लिखित रुपमै औपचारिकता दिने तयारी छ’, सभापति राईले नेपाली लिंकसँग भने, ‘अब हामी एक्ला-एक्लै हिँड्ने काम नगरौं। सबै एकठाउँ उभिएर गोर्खाहरुको अधिकार स्थापित गर्नतर्फ जुटौं ।’

कार्यगत एकतामा गइसकेका संगठनहरुले अब छुट्टाछुट्टै भेला, जानकारीसभा जस्ता कार्यक्रम आयोजना गर्न बन्द गर्नुपर्ने राईको धारणा छ । ‘अबका सबै कार्यक्रम र अभियानहरु सबै संगठन मिलेर संयुक्त रुपमा गरौं । एक्ला-एक्लै भेलाहरु गर्दै र बोल्दै हिँड्दा हाम्रो एकतालाई बल पुग्दैन’, उनले थपे । 

संवेदनशील समयमा स-साना कमजोरीहरुले पनि माहोल बिगार्न सक्नेतर्फ राईले चिन्ता व्यक्त गरेका छन्। 

गोर्खाहरुको अधिकारप्राप्तिको आन्दोलन लामो समयसम्म पनि निष्कर्षमा पुग्न नसक्नुमा गोर्खाहरुबीचकै बेमेल एक प्रमुख कारण रहेको सभापति राईको ठहर छ ।

‘हामीले अहिले पनि यो कुरा बुझ्न सकेनौँ भने हातमै आउन लागेको फल गुम्ने खतरा रहन्छ’, उनी भन्छन्, ‘सबैले यसतर्फ बेलैमा ध्यान पुर्‍याउन म आग्रह गर्दछु ।’ 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू