शनिबार, वैशाख ८, २०८१
01:49 | ०६:३४

गोर्खा मुद्धामा बेलायतसँग वार्ता गर्न नेपालले गठन गर्‍यो वार्ता समिति

नेपाली पक्षको नेतृत्व राजदूत आचार्यले गर्ने

नेपाली लिङ्क मार्च २, २०२२

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

लन्डन । भूपू गोर्खाहरुको मागका सम्बन्धमा बहुप्रतिक्षित नेपाल- बेलायत वार्ताका लागि नेपाल सरकारले समिति गठन गरेको छ ।

मन्त्रिपरिषद बैठकले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको नेतृत्वमा वार्ता समिति गठन गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बुधबार जानकारी गराए ।

वार्ता समितिमा सदस्य कोको रहने भन्ने अझै खुलाइएको छैन । तर परराष्ट्र मन्त्रालयबाट सहसचिव वा उपसचिव स्तरका कर्मचारीका साथै लन्डन दूतावासबाट उपनियोग प्रमुख रोशन खनाल र सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदारलगायतलाई समितिमा सदस्य राखिने सम्भावना छ ।  

लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता एवम् उपनियोग प्रमुख रोशन खनालका अनुसार वार्ता समिति गठन भएपनि यसबारे आधिकारिक पत्र बुधबार दिउंसोसम्म दूतावासलाई प्राप्त भइसकेको छैन।  

बेलायत-नेपाल वार्तामा भूपू गोर्खाका प्रतिनिधि समेत सहभागी गराउने तयारी छ । गोर्खाका तर्फबाट वार्तामा मेजर जुद्ध गुरुङले ‘लिड’ गर्ने टुंगो लागिसकेको गोर्खा सत्याग्रह संघर्ष समितिका निर्देशक ज्ञानराज राईले बताए । उनका अनुसार बाँकी प्रतिनिधिको हकमा विषयगत रुपमा सम्बन्धित विषयमा दक्षता राख्ने विज्ञहरुलाई पठाइनेछ ।  

बेलायतका लागि नेपाली राजदूत पद रिक्त रहेका कारण पछिल्लो केही समय ब्रेक लागेको नेपाल- बेलायतबीचको गोर्खा वार्ता अब चांडै शुरु हुने अपेक्षा छ ।  

गतसाता मात्रै पदबहाली गरेका राजदूत आचार्यले पनि वार्ता अगाडि बढाइहाल्ने प्रतिवद्धता जनाएका छन् । यसअघि नै सरकारले गोर्खा वार्ताको जिम्मेवारी उनलाई दिइसकेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू