शनिबार, वैशाख १५, २०८१
04:51 | ०९:३६

बेलायतमा पहिलोपटक बिस्केटजात्रा मनाउने तयारी

अप्रिल महिनाको १० तारिख कार्यक्रम

नेपाली लिङ्क मार्च १, २०२२

फाइल तस्विर

लन्डन । बेलायतमा नेवारी भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा सक्रिय पासा पुचः गुथि यूकेले अब बिस्केटजात्रा पनि आयोजना गर्ने भएको छ ।

नेवारी समुदायको लोकप्रिय सांस्कृतिक पर्व बिस्केटजात्रा यस वर्ष पहिलोपटक बेलायतमा मनाउने तयारी गुथिले शुरु गरेको छ ।

आइतबार बसेको गुथिको बैठकले आउंदो अप्रिल महिनाको १० तारिख प्लमस्टिडको एशियन कम्युनिटी सेन्टरमा एक विशेष कार्यक्रम गरी बिस्केटजात्रा मनाउने निर्णय गरेको अध्यक्ष ओजेश सिंहले नेपाली लिंकलाई जानकारी दिए ।

परम्परागत शैलीमा जात्रामा तान्नको लागि रथ नै तयार गर्ने गुथिको योजना रहेको उनले बताए । गुथिले हरेक दुइवर वर्षमा आयोजना गर्दै आएको ‘नेवा मुना’ को अवसर पारेर यसपटक बिस्केटजात्रा गर्न लागिएको हो ।

जात्राको संयोजन पासा पुचः गुथिको साउथ इष्ट लन्डन शाखाले गर्नेछ । शाखाका अध्यक्ष माधवलाल श्रेष्ठलाई कार्यक्रमको मुख्य संयोजकको जिम्मेवारी दिइएको छ ।

जात्रामा बेलायतभरबाट ५ सय जनाको सहभागिता अपेक्षा गरिएको छ । कार्यक्रममा सहभागी हुन १५ पाउण्डको टिकट तोकिएको छ । त्यसअवसरमा सहभागीहरुका लागि मौलिक नेवारी परिकारहरु पनि व्यवस्था गरिनेछ ।

गुथिका अध्यक्ष ओजेश सिंहले यस वर्ष शुरु गर्न लागिएको बिस्केटजात्रालाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने योजना रहेको बताए । बेलायतमा नेवारी संस्कृति र परम्पराको प्रवर्द्धन तथा यतै हुर्किंदै गरेको नयाँ पुस्तासम्म हस्तान्तरण नै जात्राको प्रमुख लक्ष्य रहने उनको भनाइ छ ।

पासा पुचः गुथि यूकेले यसहघि पनि बेलायतमा म्हः पूजा, योमरी पुन्ही, नेवा भ्वयः (नेवा भोज) लगायतका सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू