बिहीबार, वैशाख १३, २०८१
01:44 | ०६:२९

बेलायतका लागि नेपाली राजदूतलाई पन्चेबाजाका साथ बजार घुमाएर अभिनन्दन 

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२२

लन्डन । गैरआवासीय नेपाल संघ बेलायतले आइतबार बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको स्वागत तथा अभिनन्दन गरेको छ ।

राजदूत दम्पत्तिलाई अल्डरसटस्थित संघको कार्यालय पुग्दा पुष्पगुच्छा, खादासहित स्वागत सम्मान गरेर पञ्चेबाजासंगै बजार हुंदै एम्पायर हल लगिएको थियो । गुल्मेली प्रथम नौमति बाजा समूहको पञ्चेबाजामा राजदूत दंग देखिन्थे । बेलायतमा पहिलो सार्वजनिक कार्यक्रममा उपस्थित उनी आयोजक एनआरएनए यूकेप्रति आभारी पनि भए ।

आचार्य गत बुधबार संयुक्त अधिराज्य (यूके) का लागि नेपालको २२ औं राजदूतका रुपमा लन्डन आइपुगेका थिए ।

एम्पायर हलमा आयोजित औपचारिक कार्यक्रममा राजदूत आचार्यले आफ्नो कार्यकालका प्रमुख लक्ष्य सुनाए ।

उनले बेलायत नेपाल ऐतिहासिक सम्बन्धको पृष्ठभूमिमा यसलाई अझ सुदृढ बनाउने, बेलायत नेपाल सिधा हवाइ उडानमा पहल, वैदेशिक लगानीमा दोहोरो कर उन्मुक्ति, भूतपूर्व गोर्खा समस्या समाधानलाई प्राथमिकता, बेलायतसंग राजनीतिक, आर्थिक, सामाजिक, कूटनीतिक, पर्यटकीय, व्यापारिक सम्बन्ध विस्तार जस्ता विषयलाई केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाए ।

राजदूत आचार्यले गैरआवासीय नेपाल संघ बेलायतसंग सहकार्य गरेर अगाडि बढ्ने वाचा पनि गरे । बेलायतका नेपालीको हकहित र राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउने समेत उनको थप प्रतिवद्धता थियो ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्य

कार्यक्रमको अध्यक्षता गरेका गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहामगरले बेलायतमा आचार्यजस्ता एक अनुभवी कूटनीतिज्ञ लाई राजदूतका रुपमा पाउनु सबैको गर्वको विषय भएको उल्लेख गर्दै संघ दूतावास र राजदूत आचार्यसंग हातेमालो गरी देश विदेशमा रहेका नेपालीको हकहित र सेवाका लागि गतिशील रहन प्रतिवद्ध रहेको बताए । गाहामगरले गैर आवासीय नेपाली नागरिकता र गोर्खा मुद्दामा राजदूत आचार्यबाट आफूहरुले धेरै आशा राखेको पनि बताए ।

कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्यले विदेशका नेपाली र तिनका सन्तानलाई आफ्नो मातृभूमिप्रति जोडिराख्न गैर आवासीय नेपाली नागरिकताको व्यवहारिक कार्यान्वयन पक्षमा जोड दिए ।

कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक शेर बहादुर सुनार, एनआरएनए आइसीसी सदस्य ललितकुमार न्यौपाने, एनआरएनए अभियन्ता थर्क सेन, गोर्खा अभियन्ताहरु धन बहादुर गुरुङ, पुष्पा राणा घले, एनआरएनए यूके प्रमुख सल्लाहकार ध्रुव केसी लगायतले सम्बोधन गरेका थिए ।

गैर आवासीय नेपाली संघ, बेलायतका अध्यक्ष प्रेम गाहामगर

उक्त कार्यक्रममा एनआरएनए यूकेका प्रमुख संरक्षक, प्रमुख सल्लाहकारहरु, सल्लाहकारहरु, पूर्व अध्यक्षहरु, एनआरएनए आइसीसी सल्लाहकारहरु, आइसीसी सदस्यहरु, निर्वाचित आइसीसी सदस्यहरु तथा आइसीसी उम्मेदवारहरु लगायत बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

उपस्थित संघसंस्थाका प्रतिनिधिलाई स्टेजमा आफ्नो परिचयसहित राजदूत आचार्यसंग परिचयको अवसर जुराइएको थियो ।

कार्यक्रममा उपाध्यक्ष गोविन्द खरेलले स्वागत मन्तव्य र अर्का उपाध्यक्ष नारायण कंडेलले राजदूतको परिचयसहित संघका गतिविधिबारे प्रकाश पारे । कार्यक्रम सञ्चालन उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र पोखरेलले गरेका थिए ।

कार्यक्रमका लागि पुरण गिरीले १५०० पाउण्ड (एम्पाएर हल निशुल्क उपलब्ध), ललित कुमार न्यौपाने ५०० पाउण्ड, कुल आचार्य ३०० पाउण्ड, थर्क सेन २०० पाउण्ड, सोलिसिटर राजु थापा १०१, तमु समाज यूके ५०, क्याट यूके ५०, डिएनएस यूके ५०, गुल्मी जिल्ला समाज यूके ५०, लमजुङ्ग समाज यूके ५१, मगर संघ यूके ५०, धनबहादुर गुरुङ २०, जुरेन्द्र लिम्बु ५०, शिव राई ४०, माला पुन २०, दिपक खड्का १०, मधु सुधन १५, संजय कंडेल १०, एलएन पाण्डे २०, जित रानाभाट २०, पदमा श्री ज्वेलर्स २०, लोक गुरुङ १०, बागबीर पुन ४०, कुमार फगामी ५०, शान्ति उदय थापा ५० र बुटवल समाज यूकेको ५० पाउण्डसहित ३ हजार ३ सय २७ पाउण्ड संकलन भएको भन्दै संघले दाताहरुप्रति आभार व्यक्त गरेको छ । तस्विरहरु- शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू