शुक्रबार, वैशाख १४, २०८१
21:22 | ०२:०७

एमसिसी अनुमोदनपछि नेपालको भविष्य उज्यालोतिरः प्रा. सुवेदी

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२२

लन्डन । बेलायतस्थित लिड्स विश्वविद्यालयमा अन्तरराष्ट्रिय कानूनका प्राध्यापक डा. सूर्य सुवेदीले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता अनुमोदनले नेपालको भविष्य उज्यालो हुने टिप्पणी गरेका छन् । उनले एमसिसी अनुमोदन भएसंगै नेपालमा चलिरहेको दुर्भाग्यपूर्ण राजनीतिक द्वन्द्व अन्त्य भएको पनि बताए ।

एमसीसीका कारण नेपालमा सृजित राजनैतिक द्वन्द्वका कारण देशको भविष्य नै अन्धकार तर्फ धकेलिएका बेला यसको अनुमोदनले देशले अब नयाँ मोड लिने बताउंदै प्राध्यापक सुवेदीले सरकारले गरेको उक्त निर्णयबाट आफू खुशी भएको बताए । ‘यस परियोजना नेपालका लागि धेरै लाभदायक छ । यसले नेपाललाई महत्वपूर्ण पूर्वाधार परियोजनाहरू विकास गर्न, रोजगारीका अवसर सिर्जना गर्न र अन्ततः देशमा गरिबी घटाउन मद्दत 
गर्नेछ’- सुवेदीले नेपालीलिंकसंग भने ।

एमसिसी अमेरिकी जनता र सरकारको स्वागत प्याकेज भएकाले एमसिसी सम्झौतालाई अनुमोदन गरेर संसदले उचित निर्णय गरेको सुवेदीको ठहर छ ।

एमसीसी पारित हुनुअघि पनि विभिन्न राजनीतिक दलका नेताहरुलाई आफूले पटक-पटक सल्लाह र सुझाव दिंदै आएको उनले 
स्मरण गरे ।

त्यसो त सोमबारमात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक पत्रकार सम्मेलनमा एमसिसीको बारेमा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक सुवेदीको सुझावलाई मान्दै आफूहरु अगाडि बढेको बताएका थिए ।

अध्यक्ष दाहालले पत्रकार सम्मेलनमा प्राध्यापक सुवेदीले लेखेको पत्र नै बोकेर प्रस्तुत भए पनि त्यसमा लेखिएका विषय भने पढेर नसुनाएको समाचारमा जनाइएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन गरेको थियो ।

करिब दुई वर्ष लामो वहस र विवादपछि उक्त सम्झौता व्याख्यात्मक घोषणासहित टुंगो लागेको हो ।

दलहरुबीचको राजनीतिक खिचातानीका कारण फिर्ता जान लागेको उक्त परियोजना अन्ततः पारित भएपछि यसबाट नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू