बुधबार, वैशाख १२, २०८१
15:26 | २०:११

नयां राजदूतलाई कार्यक्रममा बोलाउन तानातान

नेपाली लिङ्क फ्रेब्रवरी २६, २०२२

लन्डन । बेलायतका लागि नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यले बुधबार लन्डनस्थित दूतावासमा पदभार सम्हालेपछि उनको व्यस्तता शुरु भएको छ ।

आफ्नो कूटनीतिक जिम्मेवारीबाहेक उनी अहिले नेपाली संघसंस्थाले आफ्नो स्वागत सम्मानका लागि गरेका निम्तोमा ‘इन्गेज’ हुनु परेको छ ।

गैर आवासीय नेपाली संघ बेलायतले आइतबार अल्डरसटमा राजदूत आचार्यको अभिनन्दन कार्यक्रम तय गरेको छ ।

विगतमा जस्तै नेपाली दूतावाससंग सहकार्य 
गर्दै अगाडि बढ्न आतुर एनआरएनए यूकेले एकजना अनुभवी कूटनीतिज्ञलाई राजदूतका रुपमा पाएकामा हर्षित हुंदै अभिनन्दन गर्न लागिएको जनाएको छ ।

एनआरएनए यूकेको आफ्नै कार्यालयमा दिउसो २ बजे स्वागत गर्ने र बाजागाजासहित औपचारिक कार्यक्रम गर्न दिउसो साढे २ बजे एम्पायर हल लैजाने संघको तयारी छ ।

उता, भूतपूर्व गोर्खाहरु आवद्ध गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले पनि मंगलबार सांझ लन्डनमा राजदूतको स्वागत तथा जानकारी सभा 
राखेको छ ।

गोर्खा मुद्दा समाधानका लागि त्रिपक्षीय वार्ताको नेतृत्व गर्ने जिम्मेवारी पाएका राजदूत आचार्यलाई आफ्ना ऐतिहासिक समस्या 
र माग पुनः सुनाउने समितिको योजना छ ।

‘हामीले महामहिमज्यूलाई लन्डनमा औपचारिक स्वागत र गोर्खा समस्या विस्तृतमा अवगत गराउन कार्यक्रम राखेका हौं’, सत्याग्रहका प्रमुख 
संयोजक कृष्णबहादुर राईले भने ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) पनि राजदूतबाट ‘कन्फर्मेसन’ कुरेर बसेको छ ।

आउंदो मंगलबार सांझ दूतावासमा नै सेना दिवस कार्यक्रम तय छ, जहां राजदूतको उपस्थिति निश्चित छ ।

लन्डनस्थित नेपाली दूतावास श्रोतका अनुसार 
राजदूतलाई कार्यक्रमका लागि ‘अप्रोच’ गर्ने धेरै छन् ।

त्यसो त स्वागत सम्मान कार्यक्रमका आआफ्नै स्वार्थ हुन्छन् । कतिपय नयां राजदूतसंग निकट हुन कार्यक्रम जुराउंछन्, कति आफ्नो स्वार्थ पुरा गर्न । कतिपयलाई नयां कूटनीतिज्ञको सम्मान गर्नु आफ्नो दायित्व भएको लाग्छ । नयां राजदूतका अनुभव र उद्देश्य सुन्न लालयित हुने पनि कयौं हुन्छन् ।

विगतका राजदूतहरु पनि बेलायतस्थित नेपाली संघसंस्थाका प्राय कार्यक्रममा सहभागी हुने गर्दथे । तर, साना ठूला हरेक सार्वजनिक कार्यक्रममा महत्वपूर्ण समय खर्चंदा एउटा राजदूतले आफ्नो खास जिम्मेवारी चाहिं वहन गर्न सम्भव होला भन्ने प्रश्न पनि उठ्ने गर्दछ ।

राजदूत आचार्य अलिक 
’फ्रेण्डली’ र ‘आउट स्पोकन’ भएको उनलाई चिन्नेहरु बताउंछन् । तर आगामी दिनमा संस्थापिच्छे हुने सार्वजनिक कार्यक्रमलाई उनले कसरी लिनेछन् त्यो हेर्न बांकी नै छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू