बिहीबार, वैशाख २०, २०८१
17:26 | २२:११

बेलायतका लागि नयाँ राजदूत आचार्यले गरे पदबहाली

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२२

लन्डन । बेलायतका लागि नवनियुक्त नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले आफ्नो पदबहाली गरेका छन् ।  

बेलायतका लागि नेपालको २२ औँ राजदूतका रुपमा आचार्यले बुधबार दिउंसो पदबहाली गरेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।  

राजदूत आचार्यले आफ्नो भावी कार्य योजनाबारे छलफल गर्ने क्रममा नेपाल र संयुक्त अधिराज्यबीचको द्विपक्षीय, राजनीतिक, आर्थिक तथा साँस्कृतिक सम्बन्ध अझ सुदृढ बनाउने तथा गैर आवासीय नेपाली नागरिकहरुसँगको सहकार्य अभिवृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरेको दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ ।  

त्यसैगरी उनले भूतपूर्व ब्रिटिश गोर्खा समस्या समाधान आफ्नो प्राथमिकताको विषय रहेको समेत बताएको दूतावासले जनाएको छ । व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धनलगायत आर्थिक कूटनीतिका क्षेत्रमा राजदूतावासको भूमिकालाई अझ प्रभावकारी बनाउन राजदूतावासमा एक जना कर्मचारीलाई सम्पर्क व्यक्तिको रुपमा तोकिने योजना राजदूत आचार्यले सुनाएका छन् ।

बेलायतका लागि नेपाली राजदूतमा नियुक्त भएको एक महिनापछि बुधबार बिहान मात्रै उनी लन्डन उत्रिएका थिए । आचार्यको पदबहालीसंगै पछिल्लो ठीक चार महिनादेखि राजदूतविहिन लन्डन दूतावासले नयाँ राजदूत प्राप्त गरेको छ ।

गत अक्टोबर २४ तारिख तत्कालिन राजदूत लोकदर्शन रेग्मी नेपाल फर्किएयता उपनियोग प्रमुख रोशन खनालले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्।

राजदूत आचार्य नेपालका एक अनुभवी कूटनीतिज्ञ मानिन्छन् ।अर्थशास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९८३ मार्चमा शाखा अधिकृतको रूपमा नेपालको परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनले पछि परराष्ट्र मन्त्रालयको सचिवसम्मको जिम्मेवारी सम्हालेका थिए ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि रहिसकेका आचार्यले राष्ट्रसंघमा उपमहासचिवको जिम्मेवारी समेत सम्हालेका थिए । सन् २०१२ अगष्टमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले उनलाई उपमहासचिवमा नियुक्त गरेका थिए । आचार्यले विगतमा प्रधानमन्त्री शेरबहादुर देउवाकै पालामा आर्थिक सल्लाहकारको भूमिका समेत निर्वाह गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू