शनिबार, वैशाख १५, २०८१
01:07 | ०५:५२

एनआरएनए यूकेलाई आइसीसीको अल्टिमेटम: शुल्क नबुझाए निर्वाचनमा भाग लिन नपाउने

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२२

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीले विभिन्न पाँच वटा राष्ट्रिय समन्वय परिषद (एनसिसी) हरुलाई आसन्न निर्वाचनमा भाग लिन पाउने अवसरबाट वञ्चित हुनेतर्फ सचेत गराएको छ ।

तोकिएको समयभित्र सदस्यता शुल्क नबुझाउने यूकेसहितका ती एनसीसीहरुलाई मंगलबार पत्र लेख्दै आइसीसीले आगामी मार्च तीन तारिखभित्र शुल्क नपठाए निर्वाचनमा भाग लिन नपाउने स्पष्ट पारेको हो ।

अध्यक्ष कुमार पन्तले यूके, अष्ट्रेलिया, अमेरिका, जापान र क्यानडाका एनसिसीहरुलाई पठाएको पत्रमा केन्द्रमा बुझाउने भन्दै लिएको सदस्यता दस्तुर नबुझाएमा आगामी मार्च २२ र २३ मा हुने निर्वाचनमा भाग लिन नपाइने निर्वाचन समितिले समेत स्पष्ट पारेको उल्लेख छ ।

पत्रमा मार्च ३ तारिखभित्र सदस्यता शुल्क संघको सचिवालयमा पठाउन अनुरोध गरिएको छ । यदि तोकिएको मितिमा नबुझाएमा सदस्यहरुले निर्वाचनमा भाग लिन नपाउने र त्यसको जिम्मेवार राष्ट्रिय समन्वय परिषद नै हुने पत्रमा स्पष्ट पारिएको छ ।

पत्र अनुसार यूकेका ११ हजार तीन सय ६३ जना सदस्यबापत बुझाउनुपर्ने ५६ हजार आठ सय १५ अमेरिकी डलर बुझाइएको छैन ।

एनआरएनए विधानको दफा ९.४ अनुसार राष्ट्रिय समन्वय परिषदले केन्द्रीय समितिमा सदस्यता शुल्क बुझाउनुपर्ने प्रावधान छ ।

संघको विधानको दफा १७.७ अनुसार राष्ट्रिय समन्वय परिषदले संघको उद्देश्य अनुरुप अगाडि बढ्न अस्वीकार गरेमा, अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्देशन पालना नगरेमा वा विधानको अनुसूची ८ मा दिइएको न्युन्तम मापदण्ड अनुसूची ८ (छ) मा सदस्यता शुल्क बुझाउनुपर्ने भन्ने प्रावधानको पालना नगर्ने राष्ट्रिय समन्वय परिषदहरुलाई केन्द्रले विघटन गर्ने वा मान्यता फिर्ता लिनसक्ने अधिकार छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू