बिहीबार, वैशाख ६, २०८१
16:36 | २१:२१

नेपाल वैदेशिक लगानीका लागि ‘भर्जिन ल्यान्ड’

लण्डनमा बेलायती र नेपाली व्यवसायीको जमघट

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२२

नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवम आइएमइ ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल

लण्डन । उद्योगी–व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग परिसंघका उपाध्यक्ष एवम आइएमइ ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले नेपाल वैदेशिक लगानीका लागि ‘भर्जिन ल्यान्ड’ रहेको भन्दै बेलायती व्यवसायीलाई लगानी गर्न अपिल गरेका छन् ।  

नेपाल ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसीसी) ले आइतबार आफ्नो सम्मानमा लण्डनमा गरेको एक कार्यक्रममा ढकालले केही नीतिगत अप्ठेराका बाबजुद पनि नेपाल वैदेशिक लगानीका लागि उपयुक्त स्थान रहेको बताए । 

‘जहाँ संकट र जोखिम छ, त्यहीं अवसर हुन्छ । राजनीतिक अस्थिरता लामो समयसम्म रहने चीज होइन’-बेलायतस्थित नेपाली र स्थानीय व्यवसायीमाझ ढकालले भने-‘तपाईंहरु नेपाल आउनुस्, अहिले त्यहां धेरै परिवर्तन  भइसकेको छ । हामी सहयोग गर्छौं ।’

परिसंघले वैदेशिक लगानीकर्तालाई दोहोरो कर प्रणाली र अन्य व्यवहारिक जटिलता हटाउन सरकारसँग लवी गरिरहेको बताउंदै ढकालले बेलायतका नेपाली व्यवसायीलाई लगानी गरेर देशको समवृद्धिमा टेवा दिन पनि आग्रह गरे । 

उनले नेपालमा पर्यटन, पूर्वाधार, हाइड्रो आदि लगानीको प्रमुख क्षेत्र रहेको पनि औंल्याए ।  

कार्यक्रममा बिएनसीसी उपाध्यक्ष बिराज भट्ट र अनरेरी चिफ एक्जुकेटिभ रिचार्ड पेलीले आफ्नो संस्थाले बेलायतका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रेरित गर्दै दुई देशबीच पुलको काम गरिरहेको बताए ।  

सो अवसरमा व्यवसायीहरु कुल आचार्य, उत्तम नेपाल, कमल पौडेल, रवि लामिछाने, योगेन क्षेत्रीसहित बेलायतस्थित दुई दर्जन बढी व्यवसायीहरुको सहभागिता थियो। उनीहरुले नेपालमा लगानीको वातावरण, सम्भावनाका क्षेत्रहरुदेखि आइएमई ग्रुपको सक्सेस स्टोरीसम्मका विषयमा ढकालसंग जिज्ञासा राखेका थिए ।

कार्यक्रम संयोजक बिएनसिसी उपाध्यक्ष बिराज भट्टले नेपालको सफल व्यवसायिक समूहका निर्देशकसंगको छलफलले बेलायतस्थित नेपाली व्यवसायीहरुका लागि उपयोगी भएको भन्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

तस्विरहरु: शिव भण्डारी

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू