बिहीबार, चैत १५, २०८०
15:16 | २१:०१

भूतपूर्व ब्रिटिश गोर्खा संगठनहरु त्रिपक्षीय वार्ताअघि एक हुने तयारीमा

नेपाली लिङ्क फ्रेब्रवरी १९, २०२२

लन्डन । भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको पेन्सन, क्षतिपूर्ति लगायत विषयमा बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खाबीच वार्ता तयारी भइरहंदा गोर्खा संगठनहरु कार्यगत एकतातर्फ उन्मुख भएका छन् ।

गोर्खा संगठनका तर्फबाट वार्ता समितिमा बस्ने व्यक्तिहरुको पनि लगभग छिनोफानो भइसकेको एउटा 
प्रमुख संगठन गेसोका सभापति कृष्णकुमार राईले नेपालीलिंकसंग बताए ।

पटक पटकको वार्तापछि गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति र गेसोबीच कार्यगत एकताको अनौपचारिक सहमति भइसकेको र छिट्टै लिखित रुपमा निर्णय सार्वजनिक गरिने गेसो सभापति राईले बताए ।

‘विगतमा झैं कार्यगत एकता र गोर्खा संगठनहरु मिल्नुको विकल्प छैन् भन्ने निष्कर्षमा हामी पुगेका छौं’, केही दिनअघि बेलायत आइपुगेका राईले भने, ‘पहिलो चरणमा गेसो र सत्याग्रहबीच कार्यगत एकताको सहमति हुनेछ भने बांकी संगठनहरुलाई पनि एकै ठाउंमा ल्याउन हामी पहल गर्नेछौं ।’

गेसो सभापति कृष्णकुमार राई

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई र गेसो सभापति राईबीच नेपालमा पनि पटक पटक वार्ता भएका, गोर्खा मागहरुबारे दुई संस्थाका एउटै ज्ञापन र सरकारी अधिकारीहरुसंगको भेटमा पनि एकै आवाज प्रस्तुत गरेर उनीहरुले एकताको संकेत दिइसकेका बताइएको छ ।

सन् २०१८ मा भएको प्राविधिक कमिटीको अन्तिम प्रतिवेदन कार्यान्वयन नै उनीहरुको ‘बटमलाइन’ छ ।

बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्य लन्डन आउने बित्तिकै त्रिपक्षीय वार्ता अगाडि बढाउने तयारी छ । सम्भवतः राजदूत आचार्य 
फेब्रुअरीभित्रै लन्डन आइसक्ने छन् ।

सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राई

विगतमा पनि गोर्खा संगठनहरु एक भएर पुनः आ आफ्नो बाटो लागेका थिए । गोर्खाहरुमा विभाजन हुंदा बेलायतले समेत नटेर्ने र गोर्खा आन्दोलन झन् कमजोर हुने गोर्खाहरुले बुझेका छन् ।

अहिले गोर्खा आन्दोलनको नेतृत्व गर्ने संगठनमा विशेष गरि ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्लुएस्), बिगेसा र गोर्खा पेन्सन इन्जस्टिस ग्रुप छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू