मंगलबार, वैशाख ११, २०८१
12:32 | १७:१७

बुद्ध पूर्णिमादेखि गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान

रासस फ्रेब्रवरी १७, २०२२

भैरहवास्थित गौतमबुद्ध विमानस्थल बिहीबार दिउँसो आइपुगेको एरो थाईको जहाज । उक्त जहाजले भोलिदेखि क्यालिवेरेशन फलाईट गर्नेछ ।
तस्वीर-नरेश के.सी, रासस, सिद्धार्थनगर ।

काठमाडौँ, ५ फागुन– राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी जेठ २ गते (बुद्ध पूर्णिमा) देखि व्यावसायिकरूपमा सञ्चालनमा आउने भएको छ ।

शुक्रबारदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुन लागेको उक्त विमानस्थलमा जेठ पहिलो सातादेखि व्यावसायिक उडान गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी गरिएको बताए । विमानस्थलको भौतिक संरचना तथा आवश्यक उपकरण जडान भई फागुन ६ गतेदेखि साता दिनसम्म क्यालिब्रेसन उडान हुने र तीन महिनापछि बुद्ध पूर्णिमादेखि नियमित उडान सञ्चालनको योजनाअनुरूप काम अघि बढाइएको उनले उल्लेख गरे ।

महानिर्देशक अधिकारीले निर्धारित समयमा विमानस्थलको व्यावसायिक उडान सञ्चालनका लागि एक समिति गठन गरिएको र उक्त समितिले काम गरिरहेको जानकारी दिए ।

शुक्रबारदेखि क्यालिब्रेसन उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि शुक्रबारदेखि क्यालिब्रेसन उडान सुरु हुने प्राधिकरणले जनाएको छ । उक्त प्रयोजनका लागि आजै एरो थाईको जहाज नेपाल आइसकेको छ ।

थाइल्याण्डबाट दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको उक्त ‘एचएस–एआइएम’ जहाज आजै भैरहवा विमानस्थल पुगिसकेको प्राधिकरणका इञ्जीनियर मुलुक मिश्रले जानकारी दिए । क्यालिब्रेसन उडानपश्चात अन्तर्राष्ट्रिय हवाई उडान मापदण्डबमोजिम रिपोर्ट प्रतिवेदन प्रकाशन गरी रिपोर्ट आएको दुई महिनापछि मात्रै ठूला जहाज सञ्चालनयोग्य हुने उनको भनाइ छ ।

परीक्षण उडानपछि व्यावसायिक उडानको तयारी गरिनेछ । क्यालिब्रेसन उडान फागुन ६ देखि १५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक सात घण्टाको उडान हुनेछ । उक्त अवधिमा विमानस्थलमा हाल सञ्चालन भइरहेको उडान केही डिले हुने प्राधिकरणले यसअघि नै वायुसेवा कम्पनीलाई अवगत गराइसकेको छ ।

काठमाडौँ विमानस्थलकै क्षमता भैरहवा विमानस्थल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै क्षमतामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने महानिर्देशक अधिकारीले बताए । उनले देशमा ठूलो अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई पूर्वाधारको अर्को फड्को भएको र यो देशको आर्थिक विकासका लागि सामरिक महत्वको परियोजना भएको बताए ।

कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१८ मा ७२ लाख हवाई यात्रुले सेवा लिएका थिए ।

कोभिड महामारी नभएको भए विमानस्थलको क्षमताले यात्रु धान्न सक्ने अवस्था थिएन । काठमाडौँ विमानस्थलको विकल्पका रूपमा पनि गौतमबुद्ध विमानस्थललाई हेरिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पनि अहिलेको अवस्थामा करिब २० लाखमात्रै यात्रु धान्ने भएकाले दोस्रो टर्मिनल भवन चाँडो बनाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ ।

कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुने थियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको थियो । तर प्राधिकरणको निरन्तरताको ताकेताले विमानस्थल व्यावसायिक सञ्चालनमा आउन लागेको हो ।

देशकै नमूना आयोजना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । राष्ट्रिय गौरवका आयोजनामध्ये चाँडो प्रगति हासिल गर्ने नमूना आयोजना भएको प्राधिकरणको बुझाइ छ ।

सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछिल्लोपटक सन् २०२० को मार्च महिनासम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि पहिलो चरणमा करिब रु ११ अर्ब खर्च भएको छ । अब दोस्रो चरणको टर्मिनल भवन पनि छिट्टै सञ्चालन गरिने महानिर्देशक अधिकारीले बताए ।

कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थल व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू