बुधबार, वैशाख १२, २०८१
00:02 | ०४:४७

सत्ता गठबन्धनको बैठकअघि देउवा पुगे ओलीनिवास

रासस फ्रेब्रवरी १७, २०२२

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज साँझ ओली निवास बालकोटमा भएको भेटवार्ता । साथमा प्रधानमन्त्री पत्नी डा आरजु देउवा ।
तस्बीर-ओलीको सचिवालय, रासस

भक्तपुर, ५ फागुन– प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच आज यहाँ भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा सत्ता गठबन्धन दलको बैठकपछि एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।

सो अवसरमा वर्तमान राजनीतिक अवस्था र अमेरिकी अनुदान सहयोग एमसिसीका बारेमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजूसहित आज राति ८:५० बजे बालकोट पुगेका थिए ।

प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि सञ्चारकर्मीलाई जानकारी गराउनुपर्ने गरी कुनै निष्कर्षमा नपुगेको अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए ।

शुक्रबार फेरि सत्ता गठबन्धनको बैठक छ, त्यसमा कस्तो छलफल हुन्छ, कस्तो प्रतिक्रिया आउँछ एमालेले त्यसलाई मध्यनजर गर्ने अवस्था रहेको बज्राचार्यले जानकारी दिए ।

आज बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एमसिसी संसद्बाट पास गर्नुपर्ने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेपछि शुक्रबार १० बजे पुनःबैठक बस्ने गरी बैठक विना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू