बिहीबार, वैशाख १३, २०८१
18:37 | २३:२२

बेलायतद्वारा नेपाललाई २१ लाख डोज खोप हस्तान्तरण

रासस फ्रेब्रवरी १७, २०२२

स्वास्थ्य तथा जनसङख्या मन्त्री विरोध खतिवडासंग नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले आज मन्त्रालयमा शिष्टाचार भेट गर्दै । तस्विर मन्त्रीको निजी सचिवालय

काठमाडौँ । बेलायत सरकारले नेपाललाई २१ लाख डोज खोप हस्तान्तरण गरेको छ ।  

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर उक्त सहयोग हस्तान्तरण गरेकी हुन् ।  

विहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर राजदूत पोलिटले बेलायती सहयोग प्रदान गरेकी थिइन् ।  

त्यस अवसरमा मन्त्री खतिवडाले बेलायत र नेपालको २०० वर्षभन्दा पुरानो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड–१९ महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट गरे ।

‘विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ विरुद्धको यो लडाइँमा बेलायत सरकारले भेन्टिलेटर, भ्याक्सिनलगायत अन्य स्वास्थ्य सामग्री सहयोगस्वरूप प्रदान गरेकामा बेलयाती सरकार र बेलायती जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु’, उनले भने ।

नेपालको पूर्वाधार विकास, स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि बेलायत सरकारले प्रदान गरेको सहयोग उल्लेखनीय रहेको मन्त्री खतिवडाले बताए । सन् २००४ देखि नै नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति कार्यान्वयनका लागि बेलायत सरकारले गरेको योगदानको समेत उनले स्मरण गरे ।

नेपालमा कोभिड संक्रमण, खोप वितरणको अवस्था लगायतबारे राजदूत पोलिटले राखेका जिज्ञासामा मन्त्रालयका स्वास्थ्य सेवातर्फका सचिव डा. रोशन पोखरेलले थप प्रष्ट पारेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू