शुक्रबार, वैशाख १४, २०८१
02:07 | ०६:५२

लरीमा लुकेर बेलायत छिर्नेहरु बढे, एक वर्षमै भित्रिए १० हजार

नेपाली लिङ्क फ्रेब्रवरी १७, २०२२

लन्डन । युरोपबाट सामान ढुवानी गर्ने लरीहरुमा लुकेर एक वर्षमै करिब १० हजार आप्रवासी बेलायत भित्रिएका छन् । 

होम अफिसद्वारा सार्वजनिक पछिल्लो तथ्यांकले सन् २०२१ मा लगभग १० हजार विदेशी यसरी गैरकानूनी रुपमा बेलायत छिरेको देखाएको छ ।  

होम अफिसको तथ्यांकलाई केलाउँदा विगतको तुलनामा गत वर्ष झन् धेरै मानिस लरीमा लुकेर बेलायत भित्रिएको पाइएको छ । 

क्याम्पेन ग्रुप ‘माइग्रेसन ग्रुप’ ले अघिल्ला वर्षहरुको तुलनामा लरीमार्फत् भित्रिनेको संख्या ३० प्रतिशतले बढेको जनाएको छ ।  

यसरी बेलायत छिर्न खोज्ने धेरैलाई बेलायती प्रहरीले बोर्डरबाटै फर्काइदिने गरेको छ । तथ्यांकअनुसार सन् २०१६ देखि २०१९ सम्मको अवधिमा वार्षिक ३८ हजार हाराहारी बोर्डरबाट फर्काइएका छन् ।  

सन् २०१४ यता लरीको गैरकानूनी रुटबाट करिब ७० हजार आप्रवासी बेलायत छिरेको आंकलन गरिएको छ ।

गैरकानूनी बाटोबाट बेलायत छिर्ने क्रममा समुन्द्री मार्गको जोखिमपूर्ण यात्रा गर्ने कयौंले वर्षेनी ज्यान समेत गुमाउने गरेका छन् । सन् २०२१ मै लरीमा आउनेहरुबाहेक थप २८ हजार जनाले जोखिमपूर्ण ढंगले समुन्द्रको बाटो बेलायत छिर्ने कोशिश गरेका छन् ।  

विभिन्न सरोकारवाला समूहहरुले समस्याको स्थायी समाधान निकाल्न बेलायत सरकारमाथि दबाब पनि बढाइरहेका छन् । बेलायत सरकारको अनेकौँ प्रयासका बाबजुद गैरकानूनी रुपमा भित्रिने आप्रवासीहरुको संख्या घट्न सकेको छैन ।  

फ्रान्सको सीमाबाट बेलायत छिर्न खोज्नेहरुलाई फ्रान्सतर्फ नै फर्काउन सकिने व्यवस्थाका लागि दुई देशबीच सम्झौता गर्ने वा यसरी आउने ‘गैरकानूनी आप्रवासी’ हरुलाई पानीजहाज चढाएर बेलायतको सीमा कटाएर अन्य कुनै ठाउँमा पुर्‍याएर छोडिदिने जस्ता विकल्पहरु छलफलमा छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू