राजदूत नियुक्त भएकै दिन गोर्खा समस्या समाधानमा बेलायतको प्रतिवद्धता


लन्डन । भूतपूर्व गोर्खा समस्या समाधान हुने संकेतहरु देखिएका छन् । बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भएकै दिन बेलायतले गोर्खा समस्या समाधानमा आफ्नो सकारात्मक प्रतिक्रिया दिएको छ ।
यसअघि नेपाल सरकारले नयां राजदूत आचार्य बेलायत आएलगत्तै त्रिपक्षीय वार्ता अगाडि बढाउने बताएको थियो ।
नेपालका लागि बेलायती राजदूत निकोला क्याथरिन पोलिटले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणसँग शिष्टाचार भेटघाटका क्रममा बेलायतमा गोर्खा सेनाको अभूतपूर्व योगदान रहेको र गोर्खा सैनिकको न्यायोचित मागको सम्बोधन गर्न आफूले पहल गर्ने आश्वासन दिएकी छन् ।
मन्त्री खाँणले नेपालीले गोर्खा सैनिकको रूपमा बेलायती सेनामा लामो सहकार्य गरेको इतिहास भएको बताउँदै राजदूत पोलिटलाई गोर्खा सैनिकको सेवा सुविधाका लागि उठेका मागको सम्बोधन गरिदिन पहल गर्न आग्रह गरेका थिए ।
नेपाल आफैं मौन बसिरहेका बेला समेत बेलायतले वार्ता प्रक्रिया कहिले बढ्छ भनेर चासो राखेको थियो ।
गोर्खा सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले नवनियूक्त राजदूत ज्ञानचन्द्र आचार्यलाई बधाइ दिंदै उनका लागि काम गरेर देखाउने अवसर आएको बताए ।
‘महामहिमज्यूलाई बेलायतमा स्वागत गर्न आतुर छौं । उहांले नेपाल र नेपालीको मान, सम्मान, इज्जत र प्रतिष्ठा अझ उच्च बढाउंदै गोर्खाहरुमाथि भए गरिएका अन्यायविरूद्ध भिड्न सक्षम हुनुहुनेछ भन्ने विश्वास लिएका छौं’, राईले भने ।
बेलायतको सहयोग जारी रहने
गृह मन्त्रालयमा भएको भेटमा नेपाल र बेलायतबीचको २०० वर्ष पुरानो सम्बन्ध, सहकार्य र सहयोगका विषयमा छलफल भएको थियो ।
भेटमा गृह मन्त्री खाँणले बेलायतले भौतिक पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, जनशक्ति विकास, लैङ्गिक हिंसा रोक्न, चेतना अभिवृद्धि, महिला सशक्तिकरणलगायत क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद दिए ।
उनले आगामी दिनमा यस्ता काममा सहकार्यका लागि गृह मन्त्रालय र आफ्नो व्यक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
गृहमन्त्री खाँणले कोभिड–१९ महामारीबाट बच्न खोप वितरणमा खेलेको भूमिका प्रशंसायोग्य रहेको बताए ।
भेटमा राजदूत पोलिटले कोभिड–१९ विरुद्धको खोपको न्यायोचित वितरणको पक्षमा बेलायत रहेको बताएकी थिइन् । राजदूत पोलिटले बेलायतले नेपाललाई आगामी दिनमा सहयोग गर्ने क्षेत्रबारे जानकारी गराएकी थिइन् ।