शुक्रबार, वैशाख ७, २०८१
11:30 | १६:१५

प्रवासबाटै मत दिन पाउनुपर्ने माग गर्दै निर्वाचन आयोग र परराष्ट्रमा ज्ञापनपत्र

नेपाली लिङ्क जनवरी २४, २०२२

निर्वाचन आयोग

लन्डन। प्रवासी नेपालीहरुले पनि आफू बसेकै मुलुकबाट नेपालको निर्वाचनमा मत हाल्न पाउनुपर्ने माग गर्दै सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र बुझाइएको छ।

नेकपा एमालेनिकट प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीको एक प्रतिनिधिमण्डलले सोमबार निर्वाचन आयोग र परराष्ट्र मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको हो ।

मञ्चका सचिवालय सदस्य तथा पूर्वी एशियाका इन्चार्ज भक्त गुरुङ (हङकङ), सचिवालय सदस्य तथा महिला सशक्तिकरण अभियान प्रमुख डा विमला भण्डारी (रुस), मञ्चको युरोप कमिटी उपाध्यक्ष एवम् बेलायत इन्चार्ज विनोद ज्ञवाली र बेलायत कमिटीकै सदस्य राधा भट्टराईले ज्ञापनपत्र बुझाएका थिए ।  

उनीहरुले कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई ज्ञापनपत्र हस्तान्तरण गरे । त्यस्तै, सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा सचिव भरतराज पौडेलमार्फत् परराष्ट्रमन्त्री नारायण खड्कालाई पनि ज्ञापनपत्र बुझाइयो ।

परराष्ट्र मन्त्रालय

ज्ञापनपत्रमा प्रवासी नेपालीहरूले प्रवासबाटै मतदान गर्न पाउने अधिकारको सुनिश्चितता गर्न सम्बन्धित निकायहरुसँग माग गरिएको छ ।

मञ्चले नेपाली पासपोर्ट, नागरिकता वा परिचयपत्रको आधारमा प्रवासबाटै कूटनीतिक नियोगमार्फत् वा ईन्टरनेटको विद्युतीय माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्ने र अद्यावधिक गर्न पाउने व्यवस्था गर्न माग गरेको छ । त्यस्तै, प्रमाणित मतदाता नामावलीको आधारमा बसोबास गरेको देशको नेपाली कूटनीतिक नियोगमा विद्युतीय मतदान यन्त्रको माध्यमबाट प्रत्यक्ष रुपमा मतदान गर्ने र अशक्तहरुको हकमा हुलाकद्वारा मतदान गर्न पाउने गरी व्यवस्था गर्न समेत माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै निर्वाचन आयोग र परराष्ट्र मन्त्रालय दुवैका अधिकारीहरुले प्रवासी मञ्चले अघि सारेको मताधिकारसम्बन्धि माग व्यवहारिक रहेको र यसप्रति आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएको मञ्चको प्रतिनिधिमण्डलमा सहभागी युरोप कमिटी उपाध्यक्ष एवम् बेलायत इन्चार्ज विनोद ज्ञवालीले जानकारी दिए ।  

दूतावास-कूटनीतिक नियोगमार्फत् पनि बुझाइयो ज्ञापनपत्र

मञ्चका विभिन्न मुलुकस्थित कमिटीहरुले पनि सोमबार नै स्थानीय नेपाली दूतावास तथा कूटनीतिक नियोगमार्फत् ज्ञापनपत्र बुझाएका छन् ।

लन्डनस्थित नेपाली दूतावासमा मञ्चको अन्तराष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र बेलायत कमिटी अध्यक्ष सुरेन्द्र थपलियाका साथै कर्ण शाही, आङकल्जङ लामा, कल्पना त्रिपाठी, केदार थपलिया, पुण्य रेग्मी लगायतका नेता-कार्यकर्ताले सेकेन्ड सेक्रेटरी रामबाबु नेपालमार्फत् ज्ञापनपत्र बुझाएका थिए ।

नेपाली दूतावास लन्डन

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू