बिहीबार, वैशाख १३, २०८१
02:14 | ०६:५९

बेलायत सामान्य जनजीवनतर्फ लम्कंदै

नेपाली लिङ्क जनवरी २३, २०२२

तस्बिर एएफपी

लन्डन । कोरोना भाइरसको नयां भेरियन्ट ओमिक्रोन तीव्र फैलिएपछि क्रिसमसताका बेलायतवासीहरु कयौं प्रतिवन्ध पालना गर्न वाध्य भए ।
प्लान बी अन्तर्गत मास्क र कोभिड पास अनिवार्य, सम्भव भएसम्म घरैबाट काम जस्ता नियम लागू गरेको सरकारले अब ति सबै प्रतिवन्ध हटाउने घोषणा गरेको छ ।
ओमिक्रोन संक्रमण क्रमशः घट्न थालेपछि यसअघि  लागू गरिएका प्रतिवन्धहरु हटाउने निष्कर्षमा सरकार पुगेको हो ।
प्रधानमन्त्री बोरिस जोन्सनले गत बुधबार ‘प्लान बी’ नियम आउंदो २६ जनवरीदेखि हटाइने घोषणा गरेका छन् । घरैबाट काम गर्ने निर्देशिका हटिसकेको छ ।
इंग्ल्याण्डजस्तै स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डमा पनि प्रतिवन्ध हटाइंदैछ ।  नाइट क्लब र ठूला इभेन्टमा अनिवार्य गरिएको कोभिड पास यही २७ जनवरी (बिहीबार) देखि हट्नेछ ।
सार्वजनिक स्थलहरुमा फेस मास्क अनिवार्य हुने नियम पनि हटाइने छ । माध्यमिक तहका विद्यार्थीले अब कक्षा कोठामा फेस कभर गर्नु पर्दैन् । यात्रा प्रतिवन्ध र केयर होमका नियम पनि हट्ने तरखरमा छ ।
इंग्ल्याण्डमा कोरोना पोजिटिभ भएका व्यक्तिले ५ दिनमात्र आइसोलेसन बसे हुने नियम गत १७ जनवरीदेखि लागू भइसकेको छ । यसअघि आइसोलेसन अवधि १० हुंदै ७ दिनमा झरेको थियो ।
आउंदो २४ मार्च देखि त पोजिटिभ रिजल्ट आएका व्यक्तिले पनि सेल्फ आइसोलेसन बस्नु नपर्ने नियम ल्याउन सरकार तयारीमा छ । तर, यो कोभिड संक्रममणदरमा निर्भर हुने जनाइएको छ ।
दुवै खोप लगाइसकेका यात्रुलाई बेलायत आइसकेपछि दोश्रो दिन (डे टु) मा ल्याटरल परीक्षण गर्नुपर्ने नियम समेत आउंदो साता हटाउने अपेक्षामा पर्यटन व्यवसायीहरु उत्साहित भएका छन् ।
फेब्रुअरी हाफ टर्म ब्रेक र इस्टर होलिडेलाई लक्षित गर्दै थोमस कुक, एक्सपेडिया, जेट टु जस्ता कम्पनीले होलिडे बुकिङलाई प्राथमिकता दिन शुरु गरिसकेका छन् ।
बेलायतको बर्मिङघम विश्वविद्यालयमा औषधि विज्ञानका एसोसिएसट प्राध्यापक डा. विभु पौड्याल कोभिड महामारी पूर्ण अन्त्य भइनसकेकाले वैज्ञानिक दृष्टिकोणमा प्रतिवन्धहरु खुकुलो गरिहाल्न उचित देख्दैनन् ।
‘सरकारले अर्थतन्त्र चलायमान बनाउन र दैनिक जीवनयापन सन्तुलन गर्न प्रतिवन्धहरु हटाउने तयारी गरेको हुनसक्छ । तर कोरोनाका भेरियन्ट भविष्यमा अरु पनि थपिने सम्भावना कायमै छ’, पौड्यालले भने ।
त्यसो त बेलायतको रोजगार क्षेत्र कोभिड महामारी पूर्वको अवस्थामा फर्किइसकेको विभिन्न रिपोर्टले देखाएका छन् ।
कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणको बाबजुत पनि बेलायतमा डिसेम्बरमा १ लाख ८४ हजार मानिसले नयां जागिर पाएका तथ्यांकमा छ ।
नोभेम्बरको तुलनामा डिसेम्बरमा बेलायतमा 
रोजगारी संख्या ०.६ प्रतिशतले बढेको छ ।
बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार कोभिड महामारी शुरु हुनु पूर्व सन् २०२० फेब्रुअरीको तुलनामा १.४ प्रतिशत बढीले अहिले रोजगारी पाएका छन् ।
बेलायत सरकारले बुस्टर खोपलाई बढी प्राथमिकता दिंदै प्रतिवन्धहरु हटाउंदै गएको हो । प्रधानमन्त्री जोन्सनले विगत देखि नै लकडाउनको पक्षमा आफू नभएको बताउंदै आएका थिए । केही साताअघि कोभिड पासको नियम राख्ने प्रस्ताव संसदमा लैजांदा प्रधानमन्त्रीले आफ्नै दल कन्जरभेटिभका एकसय भन्दा बढी सांसदको विरोध सामना गर्नुपरेको थियो ।
लकडाउन गरे अर्थतन्त्र फेरि संकटन्मुख हुने चिन्ता सरकारलाई छ ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू