शनिबार, वैशाख ८, २०८१
01:19 | ०६:०४

बेलायतका नेपालीको लगानीमा नेपालमा डिजिटल ट्याक्सी सेवा शुरु

नेपाली लिङ्क जनवरी २२, २०२२

काठमाडौं- बेलायतमा बस्ने युवा नेपाली व्यवसायीहरुको लगानीमा नेपालमा ‘ई-क्याब नेपाल’को डिजिटल ट्याक्सी सेवा शुरु भएको छ । शुक्रबार काठमाडौंको ठमेलस्थित ‘होटेल अलफ्ट’ मा एक विशेष समारोहबीच ई-क्याब नेपालको औपचारिक उद्घाटन गरिएको हो । 

समारोहका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ (एनआरएनए)  का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र सञ्चालक कम्पनीका अध्यक्ष दीपक श्रेष्ठले संयुक्त रुपमा ई-क्याब नेपालको उद्घाटन गरे ।  

उद्घाटन मन्तव्य दिंदै प्रमुख अतिथि एनआरएनएका संस्थापक अध्यक्ष डा. महतोले विदेशमा स्थापित युवा नेपाली व्यवसायीहरुको अग्रसरतामा नेपालमा ई क्याब नेपाल शुभारम्भ हुनु स्वागतयोग्य रहेको बताए । व्यवसायका दृष्‍टिले नेपालमा प्रशस्त अवसरसंगै धेरै चुनौतिहरु पनि रहेको उल्लेख गर्दै उनले इमान्दारीपूर्वक आफ्नो काममा लाग्दा सफलता मिल्ने विश्वास व्यक्त गरे ।  

ई क्याब नेपालका अध्यक्ष दीपक श्रेष्ठले आफ्नो कम्पनीले ट्याक्सी चालक र सेवाग्राही यात्रुहरुलाई जोड्ने प्रविधिको रुपमा काम गर्ने जनाए । ई क्याब नेपालले नेपालमै अन्तराष्ट्रिय स्तरको सेवा प्रदान गर्ने भन्दै उनले सरकार र सरोकारवाला सबै पक्षबाट आवश्यक सहयोग र प्रोत्साहनको आशा राखेको बताए ।  

त्यस अवसरमा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान, एनआरएनए पूर्व अध्यक्ष जीवा लामिछाने, उपाध्यक्ष डा बद्री केसी र सल्लाहकार कुल आचार्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष डा. कपिल रिजाल, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष ध्रुवराज अर्याल, नाटा अध्यक्ष अच्युत गुरागाई लगायतले ई क्याब नेपाललाई सफलताको शुभकामना  दिएका थिए । उनीहरुले गैरआवासीय नेपालीहरुबाट नयाँ सोच र प्रविधियुक्त डिजिटल ट्याक्सी सेवा आफ्नो जन्मभूमिमा भित्र्याउने कार्य प्रशंसनीय रहेको भन्दै नेपाललाई सुहाउँदो फिचरहरुसहित आफ्नो सेवा अगाडि बढाउन सल्लाह दिए ।  

त्यसअघि कम्पनीका सञ्चालकद्वय सन्तोष मण्डल र रोबर्ट विश्वकर्माले छुट्टाछुट्टै प्रिजेन्टेसनमार्फत् ई क्याब नेपालको अवधारणा, यसका फिचर र भावी लक्ष्यहरु लगायतका विषयमा जानकारी गराएका थिए ।  

उद्घाटन समारोहमा उल्लेख्य संख्यामा गैरआवासीय नेपाली संघआबद्ध अभियन्ताहरुका साथै नेपालस्थित उद्योगी व्यवसायी, कलाकार, सञ्चारकर्मीसहित विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति थियो ।  


ई-क्याब नेपाल डिजिटल क्यूआर प्रणालीबाट सेवा लिन सकिने डिजिटल ट्याक्सी सेवा हो। ग्राहकले ई-क्याब नेपालको मोबाइल एपमार्फत् आफूले चाहेको स्थानबाटै ट्याक्सी बुक गर्न र अनलाइनबाटै रकम भुक्तान गर्न सक्नेछन् ।  

काठमाडौं उपत्यकाबाट शुरु हुने ई-क्याब नेपालको सेवा क्रमश: देशका अन्य शहरहरुमा पुर्‍याउने लक्ष्य राखिएको छ। हालसम्म उपत्यकाका २२ सय बढी ट्याक्सीचालक ई-क्याब नेपालमा आबद्ध भइसकेका छन् ।

सञ्चालकहरुका अनुसार ई-क्याब नेपालमा यात्रुको सुरक्षाको निम्ति ट्याक्सी कहाँ पुग्यो भनेर ‘ट्रयाक’ गर्न सकिने फिचर राखिएको छ । यूके तथा विश्वका कुनै पनि देशहरूबाट समेत बुक गर्न मिल्ने क्याबमा डिजिटल पेमेन्ट, कार्ड समेत प्रयोग गर्न सकिने सुविधा छन् । साथै खल्ती सेवा र नगद भुक्तानी दिन पनि सकिनेछ । क्याबमा सामान छुटेको अवस्थामा समेत सामानको कुनै चिन्ता गर्न नपर्ने गरि सुरक्षा प्रबन्ध मिलाइएको छ ।  

विश्वका धेरै मुलुकमा सफलतापूर्वक अभ्यास भएको डिजिटल ट्याक्सी सेवालाई आफूहरुले नेपालमा भित्र्याउने कोशिश् गरेको सञ्चालकहरु बताउंछन् । यसअघि नेपालमा शुरु भएका अनलाइन ट्याक्सी कम्पनीहरुले प्रयोगमा नल्याएका अनलाइन पेमेन्ट, रुट ट्रयाकिङ, विदेशबाट बुकिङ लगायतका कयौं फिचरहरु ई-क्याब नेपालले उपलब्ध गराउने उनीहरुको दाबी छ । 

ई-क्याब नेपालको सञ्चालक समूहमा बेलायतस्थित व्यवसायीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल र रोबर्ट विश्वकर्मासहित सजनी लामा, सविन महर्जन, दिकेश प्रधान लगायत छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू