शुक्रबार, वैशाख १४, २०८१
01:34 | ०६:१९

नेपालमा कोरोना बढ्ने क्रम जारी, एकैदिन ११ हजार बढी संक्रमित

रासस जनवरी १९, २०२२

सुनसरीमा कोरोना भाइरस सङक्रमणको अवस्था दैनिक रुपमा बढदै गएपछि सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा बुधबारबाट सञ्चालनमा ल्याइएको स्वास्थ्य डेस्क । तस्वीर-अजितकुमार झा, रासस

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ संक्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८ नयाँ संक्रमित पुष्टि भएको थियो । आज कोरोना 
संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

उपत्यकाका तीन जिल्लामा आज छ हजार ३४३ नयाँ संक्रमित थपिएका छन् । काठमाडौँमा चार हजार ६६६, ललितपुर एक हजार १९ र भक्तपुरमा ५७८ नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये नौ हजार ५०२ को पीसीआर र एक हजार ८५० को एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा २३ हजार ४०९ को नमूना परीक्षण गरिएको थियो । १८ हजार ७८ जनाले पीसीआर र पाँच हजार ३३१ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा जम्मा परीक्षणमध्ये औसत संक्रमणदर ५२ दशमलव दुई प्रतिशत छ । हालसम्मको उच्च संक्रमणदर भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा २८ र आइसीयूमा १६९ जना छन् । होम आइसोलेशनमा ४६ हजार ५१५, संस्थागत आइसोलेशनमा एक हजार ४१४ गरी आइसोलेशनमा जम्मा ४७ हजार ९२९ रहेका छन् । संस्थागत क्वारेन्टिनमा १२६ रहेका छन् ।

कोभिड संक्रमण दैनिक बढिरहेकाले सबै संघसंस्थाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीको भनाइ छ ।

सभा, सम्मेलन र भेला सकेसम्म ‘भर्चुअल’ गर्ने र भौतिक उपस्थितिमै गर्नुपरेमा २५ जनासम्म मात्रैको उपस्थितिमा गर्नुपर्ने उनले बताए । ती कार्यक्रमभन्दा पहिले सबैको परीक्षण गर्ने र खोप लगाएको सुनिश्चित गर्नुपर्ने उनले बताए । उनले अगाडि भने, “संक्रमण रोक्नका लागि सार्वजनिक यातायात, हवाई सेवा, होटल, रेस्टुरेन्टलगायतले मापदण्डको पालना गर्न खाँचो छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू