शनिबार, वैशाख ८, २०८१
04:32 | ०९:१७

बेलायतमा संक्रमण घट्न थालेपछि प्रतिवन्धहरु हटाउने तयारी

नेपाली लिङ्क जनवरी १९, २०२२

लन्डन । कोरोना संक्रमणका केसहरु क्रमश: घट्न थालेपछि बेलायतमा संक्रमण नियन्त्रणको प्रयासमा लागू गरिएका प्रतिवन्धहरु पनि अब हटाउने तयारी थालिएको छ ।  

पछिल्ला दिनहरुमा मृत्‍यु हुने संक्रमितहरुको संख्या उच्च नै रहेपनि संक्रमणका नयाँ केस र अस्पताल भर्ना हुने संक्रमितहरुको संख्यामा भने उल्लेख्य कमी आएको सरकारी तथ्यांकले देखाएको छ । संक्रमण घट्दै गएपछि बेलायत सरकारले यसअघि लागू गरेका प्रतिवन्धहरु पनि अब क्रमश: हटाउने तयारी शुरु गरेको छ ।  

बुधबार बस्ने मन्त्रीपरिषदको बैठकमा अहिले लागू ‘प्लान बी’ नियमहरुबारे समिक्षा गरिने भएको छ । पछिल्लो तथ्यांकहरुलाई आधार मानेर अब कसरी अघि बढ्ने भन्नेबारे मन्त्रीहरुसँग छलफल गरेपछि प्रधानमन्त्री बोरिस जोन्सनले संसदलाई जानकारी गराउने कार्यक्रम छ ।  

सार्वजनिक स्थलमा अनिवार्य फेस मास्क, कोभिड पास लगायत बेलायतमा अहिले लागू ‘प्लान बी’ नियमहरुको पूर्व निर्धारित अवधि यही जनवरी २६ मा पूरा हुँदैछ ।  

यसअघि बेलायतमा संक्रमण र अस्पताल भर्नाका केसहरु पछिल्लो समय उल्लेख्य रुपमा घटेका तथ्यांकहरु सार्वजनिक भएका छन् । सरकारी तथ्यांकअनुसार पछिल्लो एक साताको अवधिमा संक्रमणका नयाँ केसमा झन्डै ३९ प्रतिशतले कमी आएको छ ।

त्यस्तै, गत जनवरी १४ सम्मको एक सातामा अस्पताल भर्ना हुने संक्रमितहरुको संख्यामा पनि २ दशमलब ९ प्रतिशतले गिरावट देखिएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू