बिहीबार, वैशाख १३, २०८१
15:06 | १९:५१

नेपाली उम्मेदवारको चुनावी अभियानमा बेलायती अर्थमन्त्रीको साथ

नेपाली लिङ्क जनवरी १६, २०२२

लन्डन । इंग्ल्यान्डको काउन्टी काउन्सिलमा पहिलो पटक उम्मेदवार छनोट भएका कोलबर्न टाउन काउन्सिलर डा. जगन्नाथ शर्माले मे ५ मा हुने आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् ।

नर्थ योर्कसायर काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार छनोट भएपछि उनले शनिबार कन्जरभेटिभ पार्टीबाट छनोट भएका उम्मेदवारहरुको भेलामा सारगर्भिक मन्तव्य समेत दिए ।

उक्त भेलामा सोही क्षेत्रका सांसद बेलायती अर्थमन्त्री ऋषि सुनाक विशेष आकर्षण थिए ।

भेलामा बेलायती अर्थमन्त्री सुनाकले शर्मासहित अन्य उम्मेदवारहरुलाई निर्देशन र शुभकामना दिएका छन् । सुनाकले स्थानीयको मन मष्तिस्कमा रहेर सकारात्मक चुनावी नतिजा ल्याउन सुझाएका थिए । सुनाकले उक्त क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने पनि बताएका छन् ।

अर्थमन्त्री सुनाकले ब्रिटिश आर्मीमा जागिरे समेत रहेका डा. शर्मालाई ब्रिटिश आर्मीले देशको रक्षा र मानवीय सहायतामा ठूलो भूमिका निर्वाह गरेको जनाउंदै शर्माको चुनावी अभियानमा आफू समेत 
संलग्न हुने आश्वासन दिएका छन् ।

उम्मेदवार शर्माले आफ्नो मन्तव्यका क्रममा अर्थमन्त्रीसमक्ष उक्त क्षेत्रमा रेलवे कनेक्सन, युरोपमै सबैभन्दा ठूलो आर्मी प्रशिक्षण केन्द्र र बटालियन रहेको क्याट्रिक ग्यारिजन आर्मीलाई कोषवृद्धि, विकास निर्माण, ब्रेन ड्रेन रोक्न युवालाई हाइटेक जब अफर, वहु सांस्कृतिक पक्षको प्रवर्धन जस्ता मुद्दामा सहयोग गर्न माग गरेका थिए ।

डा. शर्माले ‘वसुधैव कुटुम्बकम’ को दर्शन र ‘सेवा भावना’ को अभावले संसारभर समस्या सृजना भइरहेको उल्लेख गर्दै यी दुई मान्यता अनुशरण गरे धेरै समस्या समाधान हुने बताउंदा अर्थमन्त्री सुनाकले समेत समर्थन जनाएको शर्माले बताए ।

शर्माको परिचय अनेक

बेलायती अर्थमन्त्री सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् शर्मा ।

रोयल आर्मी मेडिकल कोर्पसमा रिजर्भड आर्मी अफिसर समेत रहेका शर्मा सन् २०१२ देखि काउन्सिलर छन् । उनी कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर भइसकेका छन् ।

पर्वत बिहादी रानीपानीका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन् । सन् २००१ मा बेलायत आएका शर्मा सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका थिए  ।

स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा संक्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौं जर्नल प्रकाशित छन् ।

रक्षा मन्त्रालय प्रवेश गर्नुअघि सन् २००१ देखि २००३ सम्म उनी नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा पनि जागिरे थिए ।

शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपतकालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् ।

उनी यूके तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुमा विद्यावारिधि (पिएचडी) विद्यार्थीको वाह्य परीक्षक पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू