शुक्रबार, वैशाख ७, २०८१
14:45 | १९:३०

बेलायतमा नेपाली नर्स ल्याउन अन्तिम गृहकार्य

नेपाली लिङ्क जनवरी १३, २०२२

लन्डन । बेलायतमा नेपाली नर्स ल्याउने सम्बन्धमा बेलायत र नेपाल सरकारबीच सम्झौताको गृहकार्य अन्तिम चरणमा पुगेको छ ।

बेलायत सरकारले नेपाली नर्सहरुलाई रोजगारीका लागि आफ्नो देशमा ल्याउने सम्बन्धी सम्झौता शुक्रबार हुन लागेको सरकारका एक मन्त्रीले जानकारी दिएका छन् ।

बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिएको नयांपत्रिकाले जनाएको छ ।

मन्त्री श्रेष्ठका अनुसार सम्झौतापछि नेपाली नर्स रोजगारीका लागि बेलायत ल्याउने प्रक्रिया अगाडि बढ्नेछ ।

बेलायत सरकारले नेपालबाट १० हजार नर्सको माग गरे पनि पहिलो चरणमा दुई हजार नेपाली नर्सलाई पठाइने श्रममन्त्री श्रेष्ठले बताएका छन् । उनका अनुसार बेलायतले नर्स रोजगारीका लागि अंग्रेजी भाषामा निपूर्ण हुनुपर्ने सर्त राखेको छ  ।

‘बेलायत सरकारको सर्तअनुसार नेपाली नर्सले आइएलटिएसमा ७ स्कोर ल्याउनुपर्नेछ । तर, मैले ६.५ स्कोरको अडान राखेको छु’ उनले भने ।

बेलायत सरकार र नेपाली सरकार (जिटुजी) मार्फत नर्सलाई रोजगारीका लागि पठाइने श्रममन्त्री श्रेष्ठले बताए  । बेलायत सरकारको सर्तअनुसार जिटुजीमार्फत नै नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो । यसमा निजी क्षेत्रको संलग्नता हुने छैन् । बेलायतले ‘नेशनल हेल्थ प्रोग्राम’ अन्तर्गत नेपाली नर्सलाई लैजाने भएको हो ।

मन्त्रालयका अनुसार सरकारले नेपाली नर्सलाई शून्य लागतमा बेलायत रोजगारीका लागि पठाउने तयारी गरेको छ । रोजगारीका लागि बेलायत जाने नर्सको भाषा परीक्षा, स्वास्थ्य परीक्षण, भिसा, टिकट, बिमालगायत सबै खर्च बेलायत सरकार आफैंले व्यहोर्ने भएको छ । बेलायतमा नेपाली नर्स मासिक पाँच लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने मन्त्रालयले अनौपचारिक जानकारी दिएको छ ।

नेपाल नर्सिङ काउन्सिलका अनुसार नेपालमा २० भदौसम्म ६७ हजार २२ जना नर्स दर्ता भएका छन्  । त्यस्तै, २३ जना मिडवाइफ, ३५ हजार ३६४ अनमी छन् । तथ्यांकअनुसार २५ हजारभन्दा बढी नर्स बिदेसिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू