शुक्रबार, चैत १६, २०८०
20:13 | ०१:५८

एनआरएनए यूकेको आर्थिक अनियमितता सम्बन्धि मुद्दाको सुनुवाइ स्थगित

नेपाली लिङ्क जनवरी १३, २०२२

डार्टफोर्ड काउन्टी कोर्ट

लन्डन । एनआरएनए यूकेमा आर्थिक अनियमितता भएको भन्दै दायर मुद्दाको सुनुवाइ स्थगित भएको छ । प्रतिवादी एनआरएनए यूकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङले सुनुवाइको पूर्वसन्ध्यामा थप समय मागेपछि अदालतको सुनुवाइ स्थगित भएको श्रोतले जनायो ।

‘अब नयां मिति तय भइसकेको छैन्, सम्भवतः यसै वर्षभित्र होला’, श्रोतले भन्यो । गत १२ जनवरीका दिन बिहान १०:३० बजे डार्टफोर्ड काउन्टी कोर्टमा सुनुवाइ तोकिएको थियो ।

योगकुमार फगामी एनआरएनए यूके अध्यक्ष भएका बेला सन् २०१९ को कार्यसमितिले निर्वाचन गराउने क्रममा व्यापक आर्थिक अनियमितता गरेको दावीसहित संघका ६ जनाले एनआरएनए यूके लिमिटेड र तत्कालिन अध्यक्ष पुनम गुरुङलाई प्रतिवादी बनाइ मुद्दा दायर गरेका थिए ।

एनआरएनए यूके वर्तमान अध्यक्ष प्रेम बहादुर गाहामगर, उपाध्यक्षहरु नारायण कंडेल, मोहन कार्की र रामचन्द्र पोखरेल एवं प्रमुख संरक्षक शेरबहादुर सुनार र एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष लालबहादुर गुरुङ (एलबीजेड) ले गत वर्ष ७ अप्रिल २०२० मा मुद्दा दायर गरेका हुन् ।

गैर आवासीय नेपाली संघ बेलायतभित्र देखिएको आर्थिक अपारदर्शिता, अनियमितता तथा त्यसलाई संरक्षण प्रदान गर्ने कार्यलाई कानूनी रुपमा चुनौति दिंदै मुद्दा दायर गरिएको उनीहरुको भनाइ थियो ।

निर्वाचनका क्रममा निवर्तमान अध्यक्ष योगकुमार फगामीले सदस्यता र उम्मेदवारी शुल्कबाट आएको नगद ‘अन्धाधुन्ध’ खर्च गरेको आरोप लाग्दै आएको छ ।

१३ हजार ६ सय २९ सदस्यको १० पाउण्डका दरले एक लाख ३६ हजार २९० पाउण्ड र उम्मेदवारी मनोनयन शुल्क वापत संकलित ७१ हजार ४०० पाउण्ड हिसावमा अनियमितता भएको दावी छ । त्यति बेला अयोग्य सदस्यता शुल्कबाट २१४० पाउण्ड र डुब्लिकेट सदस्यताको ४७० पाउण्ड पनि संकलन भएको थियो ।

सन् २०१९ अन्ततिर फगामीले नवनिर्वाचित अध्यक्ष पुनम गुरुङलाई नेतृत्व हस्तान्तरण गरेपछि पनि अपारदर्शी तरिकाले खर्च भएको नगदको खोजवीन गरी असुल गर्नुपर्नेमा त्यसो नगरी झन् ढाकछोप गरिएको र यसबाट एनआरएनए यूकेलाई ठूलो नोक्सान भएको भन्दै एनआरएनए यूके लिमिटेड र तत्कालिन अध्यक्ष पुनम गुरुङलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू