शनिबार, माघ ८, २०७८
06:15 | १२:००

इंग्ल्याण्डमा अब आइसोलेशन अवधि पाँच दिनमात्र

नेपाली लिङ्क जनवरी १३, २०२२

लन्डन । इंग्ल्याण्डमा कोरोना संक्रमण पोजिटिभ भएकाहरुका लागि ‘आइसोलेशन’ अवधि घटाइएको छ । अब पांच दिनमात्र आइसोलेसन बसे पुग्ने बेलायती स्वास्थ्यमन्त्री साजिद जाविदले बताएका छन् ।

यसअघि  १४ बाट १० दिन हुँदै आइसोलेशन अवधि घटाएर ७ दिनमा झारिएको थियो ।

बेलायती स्वास्थ्यमन्त्री जाविदले आउँदो सोमबारबाट लागू हुनेगरी नयाँ नियमको घोषणा गरेका हुन् । सोमबारबाट कोरोना संक्रमण पोजिटिभ भएका मानिसले पाँच दिन आइसोलेशन बसेर पाँचौ र छैटौं दिनको ‘ल्याटेरल फ्लो टेष्ट’ मा नेगेटिभ आए आइसोलेशनमुक्त हुन सक्नेछन् ।

बेलायतमा नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण तीव्र भएपछि स्वास्थ्य क्षेत्र लगायतका विभिन्न ठाउँमा कर्मचारी अभावका कारण संकटको अवस्था सृजना भएको छ । आइसोलेशन अवधि अमेरिकामा पनि पाँच दिनमा सिमित गरिएपछि बेलायतमा पनि आइसोलेशन अवधि घटाउन सांसदहरुले दवाब दिंदै आएका थिए ।

नयाँ नियमले अर्थव्यवस्था र शिक्षा क्षेत्रमा थप सहज हुने मन्त्री जाविदले बताएका छन् । दुई तिहाइ कोरोना पोजिटिभ केसहरु पाँच दिन भन्दा बढी नरहने बेलायतको स्वास्थ्य एजेन्सीले बताएको छ ।

‘ओमिक्रोन’ सुरु भएपछि बेलायतमा उच्च संख्यामा संक्रमित थपिएका छन् । बिहीबार बेलायतमा एक लाख ९ हजार एकसय ३३ जनामा कोरोना पोजिटिभ भेटिएको छ भने ३३५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू