बिहीबार, चैत १५, २०८०
13:56 | १९:४१

नेपालमा ओमिक्रोन भेरियन्ट रोकथामको तयारी यस्तो छ

रासस जनवरी १२, २०२२
काठमाडौँ, २८ पुस– कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी संक्रामक रहेको बताइएको छ । ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि संक्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताए । “अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ) ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि संक्रमण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ”, उनले भने ।
अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा संक्रमण हुने बताइन् । “अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो”, उनले भनिन् ।
ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उनको भनाइ छ । पछिल्लो एक हप्तामा कोरोना संक्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ । यति धेरै संक्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
ओमिक्रोनले कोरोना खोप लगाएका-नलगाएका दुवैलाई संक्रमण हुन सक्दछ । संक्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गारहो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ । खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत छ ।
जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा संक्रमण गराउने बताए ।
उनले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिए । यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने बताए ।
बच्ने उपाय
यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ । सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।
यस्तै संक्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ । अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।
यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । सरकारले कोरोना भाइरसको संक्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।
संक्रमण दरको प्रवृति बढ्दै 
संक्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ । यही पुस १९ गते २.६ प्रतिशतमा रहेको संक्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ । यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र संक्रमण दर रहेको थियो ।
पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कूल संक्रमणदर थियो ।
पुस २७ गते १५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा संक्रमण देखिएको थियो । पुस २६ गते एक हजार ४४६ संक्रमित र सात हजार ८५५ सक्रिय संक्रमित तथा पुस २५ गते संक्रमित एक हजार १६७ पुगेको र सक्रिय संक्रमित छ हजार ७५५ देखिएका छन् ।
ओमिक्रोन भेरियन्ट रोकथामको तयारी
सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाइ डिपेडेन्सी युनिट (एचडीयू), भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ । उनका अनुसार आइसीयू दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडीयू तीन हजार ८४६ छन् ।
यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सटे«टर ६९३ रहेका छन् । यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् । उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडीयू, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् ।
मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उनको भनाइ छ । “पोजेटिभ संक्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौँ”, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भनिन् ।
केही दिनअघि एक हजार १४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएकाका र ती नेगेटिभ देखिएकाको अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । हालसम्म २७ ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ ।
 “एस–जिन नेगेटिभ बढ्नु भनेको ओमिक्रोन भेरियन्ट बढ्नु हो”, उनले भनिन्, “एस–जिन नेगेटिभ पत्ता लागेका सबै संक्रमितको कन्याक्ट्र ट्रेसिङ गरिरहेका छौ ।” यस्तै सीमा नाकामा एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टरसमेत बनाउन थालिएको छ ।
ओमिक्रोनले एकबाट १० मा संक्रमण सार्ने
कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण अन्यभन्दा तीव्र गतिमा बढ्ने अनुसन्धानले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा आबद्ध रहनुभएका सङ्क्रामक रोग विशेषज्ञ प्रा डा जनक कोइरालाले ओमिक्रोन भेरियन्ट (तेस्रो लहर) ले पहिले देखिएको भेरियन्टको तुलनामा धेरै मानिसलाई सङ्क्रमित बनाउने बताए । उनका अनुसार ओमिक्रोन भेरियन्ट एक जनाबाट १० जनामा सङ्क्रमण सार्ने गर्दछ ।
“सङ्क्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई, दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म सङ्क्रमित बनाउने गर्दथ्यो”, उनले भने, “तर अहिले तेस्रो लहरको ओमिक्रोन भाइरसले एक जनाबाट १० जनालाई सङ्क्रमित गराउने गर्दछ । त्यसैले यो द्रुत गतिमा फैलिन्छ ।”
आज एकैदिन तीन हजार ७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । ओमिक्रोन भेरियन्टबाट बच्नका लागि व्यक्ति आफू नै सजक हुनुपर्ने उनी बताउंछन् । “व्यक्तिबाट व्यक्ति सर्ने रोग भएकाले यसबाट बच्न आफू नै सर्तक हुनुपर्दछ”, उनले भने, “हामीले जनस्वास्थ्यका मापदण्ड लागू गरयो भने सायद यसले व्यापक रुप लिँदैन ।”
हात नियमित धुने, भीडभाड नभएका ठाउँमा जाने, मास्क राम्रोसँग लगाउने हो भने संक्रमणबाट बच्न सकिन्छ । यस्तै ओमिक्रोन भेरियन्टबाट बच्नका लागि खोप बढीभन्दा बढी मानिसलाई लगाउनु पर्दछ । ओमिक्रोन सङ्क्रमण मानिसमा रुघा लागेर माथिल्लो श्वासप्रश्वास नलीमा इन्फेक्सन (असर) गर्दछ ।
“संक्रमण नलीमा टाँसिएर रुघा बढी लगाउने गर्दछ । जबकी डेल्टा भाइरस सिधै फोक्सोमा असर गर्दथ्यो”, सङ्क्रामक रोग विशेषज्ञ डा कोइरालाले भने, ‘ओमिक्रोनले पनि मानिसमा रुघा लाग्ने, जीउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिन्छ र यसले फोक्सो सिधै सङ्क्रमण गरेर निमोनिया बनाउने कम गर्दछ ।’
खोप लगाएका व्यक्तिलाई ओमिक्रोन भेरियन्टले त्यति गारह्रो नबनाउने उनको भनाइ छ ।
खोप नलगाएकामा १० गुणाबढी संक्रमण
कोरोना भाइरसविरुद्धको खोप नलगाउनेमा व्यक्तिमा लगाएकोभन्दा १० गुणाबढी संक्रमण हुने सम्भावना रहेको अध्ययनले देखाएको उनले बताए । उनका अनुसार ओमिक्रोन भेरियन्टले खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गारह्रो बनाउने १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढी गर्दछ । उनले दुई वटा खोप लगाए जित्न सकिने बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू