शुक्रबार, वैशाख ७, २०८१
02:56 | ०७:४१

बेलायतमा नेपालीका सुनचांदी पसलमाथि निसाना

नेपाली लिङ्क डिसेम्बर २९, २०२१
लन्डन । डिसेम्बर दोश्रो साता बेलायत अल्डरसटस्थित नेपालीका दुई गहना पसलमा एकैपटक लुटपाट प्रयास भयो । लुटेराले राती ३ बजेतिर अनुग्रह ज्वेलर्स र न्यू लक्ष्मी ज्वेलर्सको सटरमा गाडी जोतेर लुटपाट प्रयास गरे ।
धन्न गहना पसलमा आधुनिक प्रविधि जडान र सेक्युरिटी अलार्मका कारण तत्काल प्रहरी घट्नास्थल पुगेपछि चोरले दुवै पसलका कुनै पनि गहना लान नसकेको सञ्चालकले बताएका छन् ।
लगत्तै अनुसन्धान थालेको हयाम्पसायर प्रहरीले घट्नामा संलग्न व्यक्तिको पहिचान भइसकेको बताएको सञ्चालकले जनाए । अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राईले भने,  ‘प्रहरीले घट्नाका संदिग्धलाई छिट्टै अदालत लाने तयारी गरेका छौं भनेका छन् । अहिले सबैकुरा बाहिर सार्वजनिक गर्न नमिल्ने रहेछ, सायद विस्तृत विवरण छिट्टै आउला ।’
न्यू लक्ष्मी ज्वेलर्सकी सञ्चालिका लक्ष्मी राईले प्रहरीसमक्ष तत्काल सूचना पुग्ने अलार्म सिस्टम र गहना पसलभित्र चोर छिर्ने बित्तिकै निस्कने धुंवाका 
कारण आफ्नो सामान सुरक्षित रहेको बताइन् ।
‘बढ्दो आपराधिक घटनाका कारण हामी महत्वपूर्ण सामान पसलमा राख्ने गर्थेनौं’, उनले भनिन्, ‘सामान त बच्यो तर पसलको भौतिक क्षति धेरै भएकाले मर्मतको झन्झट र ग्राहकलाई असुविधा पर्न गयो ।’
उनले आफ्नो क्षतिग्रस्त पसल मर्मतपछि आउंदो जनवरी पहिलोसातादेखि पूर्णरुपमा सञ्चालनमा आउने बताइन् । मर्मतकै लागि अनुमानित लागत झण्डै ५० हजार पाउण्ड लाग्ने राईको दावी छ ।
अनुग्रह ज्वेलर्सका सञ्चालक सुमन राईले बेलायतमा व्यवसाय शुरु गरेको ७ वर्षमा पहिलोपटक यस्तो घट्ना बेहोरे । ‘पसलमा क्षति भएकाले एक साताजति व्यापार भएन तर क्रिसमसका लागि 
ग्राहकलाई १७ डिसेम्बरदेखि सेवा दियौं’-सुमन राईले भने ।
यूकेको हाइ सेक्युरिटी सिस्टम जडान भएकाले पसलबाट चोरले कुनै सामान लान नपाएको राईले बताए । पसलको क्षति मर्मत गर्न करिब १२ हजार पाउण्ड लाग्ने र यो बिल्डिङ इन्सुरेन्सबाट ‘कभर’ हुने उनी बताउंछन् । ‘सामान सुरक्षित रहेकाले कन्टेन्ट इन्सुरेन्स क्लेम गरेनौं’, उनले भने ।
घट्नापछि बेलायतका भेट्रान मन्त्री एवं सो क्षेत्रका सांसद लियो डोकर्टी घट्नास्थल पुगेर पसल सञ्चालकहरुहरुसंग भेट गर्दै सान्त्वना दिएका थिए ।
भेटमा मन्त्रीले स्थानीय व्यवसायप्रति आफ्नो ऐक्यवद्धता जनाउंदै भविष्यमा यस खालका घट्ना दोहोरिन नदिने आश्वासन दिएको काउन्सिलर जीव बेल्वासेले जनाए ।
बेलायतमा नेपालीका सुनचांदी व्यवसाय एवं व्यक्तिगत गरगहना प्रायः निसाना बन्ने गरेका छन् । किन यस्तो भइरहेको छ ? सञ्चालक सुमन भन्छन्, ‘चोरी त सबै तिर भएकै सुनिन्छ । सायद हामीहरुको पसलमा धेरै सामान लुट्न सकिन्छ भनेर चोरले दुष्प्रयास गरे । हाम्रा ग्राहक र शुभचिन्तक बढी भएकाले चर्चा पनि धेरै भयो ।’
यहां नेपाली सुनचांदी व्यवसायीहरु संगठित भने नभएका होइनन् ।
व्यवसायिक मर्यादासहित आपतविपतका बेला ग्राहक एवं व्यवसायीलाई उचित सहयोग, सल्लाह सुझाव आदानप्रदान गर्ने उद्देश्यले सन् २०१८ जनवरीमा नेपाली सुनचांदी ब्यवसायी संघ बेलायत (नेपलिज ज्वेलरी एसोसिएसन यूके) गठन भएको थियो ।
संस्थाको मुख्य उद्देश्य ग्राहकहरुलाई उच्च गुणस्तर ९९.९ प्रतिशत सुनचांदीका गहना साथै कांचो सुन र चांदी उपलब्ध गराउनु रहेको अध्यक्ष मेजर योगेश राईले जानकारी दिए ।
अध्यक्ष राईले सम्पूर्ण ग्राहकलाई होम कन्टेन्ट इन्सुरेन्स गर्न सुझाएका छन् जसले गर्दा कुनै आगलागी वा चोरी भएमा इन्सुरेन्स दावी गर्न सकिनेछ ।
अध्यक्ष राईले एनजेए यूके सदस्यहरु र रिटेलर्सभन्दा बाहिर अरु पसल वा व्यक्तिगत घरहरुबाट बेचिएको वा किनिएको समानमा मिश्रित र कमसल गुणस्तर हुने सम्भावना प्रचुर रहने बताउंदै बेलायतमा दर्ता भएको एनजिए यूके सदस्यहरुबाट मात्रै किन्न पनि अनुरोध गरे । तस्बिर- शिव भण्डारी
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू