मंगलबार, वैशाख ११, २०८१
13:59 | १८:४४

एमाले अध्यक्षमा ओली र रावलको उम्मेदवारी, मतदान मंगलबार बिहान ३ बजेसम्म

रासस नोभेम्बर २९, २०२१

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनको अवसरमा अध्यक्ष पक्षको लागि उम्मेदवारी नाम दर्ता गर्ने क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली । तस्वीर- प्रदीप वन्त/रासस

चितवन । नेकपा (एमाले) को अध्यक्षका लागि केपी शर्मा ओली र डा. भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुईबीच अध्यक्ष पदका लागि निर्वाचन हुने निश्चित भएको हो ।

एमालेको चितवनको सौराहामा जारी १० औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अध्यक्षको उम्मेदवारी दिएका डा रावलले उम्मेदवारी फिर्ता नलिने बताए ।

यस्तै उपाध्यक्षमा राति घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका घनश्याम भुसाल र सचिवमा भीम आचार्यले पनि उम्मेदवारी दिएका छन् । यसबाहेक सबै पदमा यसअघि घोषणा भएबमोजिम उम्मेदवारी परिरहेको छ ।

बन्दसत्रमा घोषणा गरिएका पदाधिकारीमा अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल छन् । यसैगरी उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, सुवास नेम्वाङ र विष्णु पौडेललाई प्रस्ताव गरिएको छ ।

यसैगरी महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल तथा सचिवमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकणर् विष्ट र पद्यमा अर्याल रहेका छन् । उनीहरु सबैले उम्मेदवारी दिएका छन् ।

केन्द्रीय निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आधा घण्टा थप गरेर १० बजेसम्म पुरयाएको छ । यसअघि ८ बजेदेखि ९:३० बजेसम्मको समय तोकिएको थियो । बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए । बिहान १०:३० देखि १०:४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०:५० बजे उजुरीउपर छानबिन र निणर्य हुनेछ ।

यस्तै बिहान ११:५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ । दिँउसो १२:०५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुनेछ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तोकिएको छ । मतदान सकिएपछि मतगणना हुनेछ ।

एमालेमा केन्द्रीय समितिदेखि पदाधिकारीसम्म नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास गर्ने जिम्मा ओलीलाई दिइएको थियो । ओलीले आइतबार राति प्रस्तावित पदाधिकारी र केन्द्रीय कमिटीको नाम पेश गरेका हुन् । उनले १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्यको नाम पढेर सुनाएका थिए । विगतको केन्द्रीय कमिटीका अधिकांशलाई समेट्दै ओलीले केन्द्रीय सदस्य थप गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू