शुक्रबार, चैत १६, २०८०
08:18 | १४:०३

१८ वर्षमुनिका बालबालिकाका लागि एक करोड डोज खोप ‘बुक’

रासस नोभेम्बर २३, २०२१

काठमाडौं । १२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गरेका छन् ।

शिक्षामन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गरेका छन् । शिक्षामन्त्रीले बालबालिकालाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिए ।

स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिएका थिए । मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिए । १२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लुएचओले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति दिएको छैन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख ५१ हजार ४४९ विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्नेछ । जसमा पाँचदेखि नौ वर्ष उमेर समूहका ३१ लाख नौ हजार १७५ रहेका छन् ।

नौदेखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २७४ रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू