शुक्रबार, वैशाख ७, २०८१
05:03 | ०९:४८

गोर्खाहरुको समान पेन्सन मुद्धामा बेलायती संसदमा बहस हुँदै

संसद भवन बाहिर शान्तिपूर्ण प्रदर्शनको तयारी

नेपाली लिङ्क नोभेम्बर १९, २०२१


लन्डन । भूतपूर्व गोर्खाहरुको समान पेन्सनसम्बन्धि मुद्धामा बेलायती संसदमा बहस हुने भएको छ ।

यही सोमबार नोभेम्बर २२ का दिनमा बेलायती सांसदहरुले गोर्खाहरुले समान पेन्सन पाउनुपर्ने मागमाथि छलफल गर्ने भएका हुन् ।

गोर्खाहरुलाई बेलायती सैनिककै समान पेन्सन दिलाउनुपर्ने मागसहित शुरु गरिएको अनलाइन पिटिसनमा १ लाख हस्ताक्षर पुगेपछि यस विषयमा संसदमा छलफल हुने भएको हो ।

शुक्रबार दिउँसो यो समाचार तयार पार्दासम्म उक्त अनलाइन पिटिसनमा १ लाख ७ हजार बढी हस्ताक्षर भइसकेका छन् ।

यस्ता अभियानमा एक लाख नाघेपछि बेलायत सरकारले संसद्‌मा यस विषयमा बहस गर्नुपर्ने प्रावधान छ ।

सन् १९९७ अघि अवकाशप्राप्त गोर्खालाई भेदभावरहित व्यवहार गर्न र ब्रिटिस भेट्रान्स सरह पेन्सन दिन माग गर्दै एकजना गोर्खा शुभेच्छुक बेलायती रोय ब्रिंक्लीले अगष्ट पहिलो साता पिटिसन सुरु गरेका थिए ।

पिटिसनमा अहिले पनि हजारौं गोर्खा र तिनका विधवा नेपाल र बेलायतमा गरिबीको रेखामुनी बस्न बाध्य भएका उल्लेख गर्दै उनीहरुका परिवारलाई साउदी अरबजस्तो देशमा आधुनिक दास हुन बाध्य पारिएको दाबी थियो ।

हस्ताक्षर अभियान सुरु गर्दा गोर्खाहरु समान पेन्सन माग राख्दै बेलायती प्रधानमन्त्री कार्यालय अगाडि रिले अनसनमा थिए । १७ दिनको रिले अनसनपछि भोक हड्ताल बसेका भूतपूर्व गोर्खाहरुले बेलायतले वार्तामार्फत समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि १३ औं दिनमा अनशन तोडेका थिए ।

गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरु ज्ञानराज राई, धन गुरुङ र पुष्पा राणा घलेको दुई साता लामो अनसनपछि गोर्खाका मागहरुबारे आगामी डिसेम्बरमा नेपाल सरकारसँग वार्ता गर्न बेलायत सहमत भएको थियो ।

उता, गोर्खा सत्याग्रहले सोही बेला संसद भवन बाहिर शान्तिपूर्ण प्रदर्शनको तयारी समेत गरेको छ । सत्याग्रहले भूतपूर्व गोर्खाहरुलाई ५.३० बजे अपरान्ह झन्डा र ब्यानरमा सहभागी हुन पनि अपिल गरेको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू