मंगलबार, जेठ ७, २०८२
18:30 | २३:१५

बेलायती सांसदहरुको जमघटमा प्रधानमन्त्री देउवाको स्वागत

नेपाली लिङ्क अक्टोबर ३१, २०२१

लन्डन ।  स्कटल्यान्डमा हुने कोप २६ मा भाग लिन बेलायत आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई एक समारोहबीच बेलायती सांसदहरुले स्वागत गरेका छन् ।  

बेलायतस्थित समाजसेवी व्यवसायी रविजंग लामिछानेको संयोजन र बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय समितिको आयोजनामा शनिबार साँझ लन्डनको ऐतिहासिक  ’नाभेल एन्ड मिलिटरी क्लब’ मा प्रधानमन्त्रीलाई गाला डिनरसहित रिसेप्सन दिइएको हो । जसमा सत्तारुढ  कञ्जरभेटिभ, विपक्षी लेबर, लिबेरल डेमोक्र्याटसहितका प्रमुख दलबाट बेलायतको दुवै सदनमा प्रतिनिधित्व गर्ने डेढ दर्जन सांसदहरुको सहभागिता थियो ।  

प्रधानमन्त्रीको स्वागतमा लन्डनका विभिन्न बरोका दर्जनौं मेयर तथा काउन्सिलरहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुदेखि भारत र पाकिस्तानका प्रधानमन्त्रीका सल्लाहकारहरु समेत उपस्थित थिए ।  

भारतीय मूलका चर्चित बेलायती उद्धमी गोपी हिन्दूजासहित बेलायतका कयौं प्रतिष्ठित व्यापारी, व्यवसायी पनि कार्यक्रममा सहभागी थिए ।  

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं गर्विलो रहंदै आएको स्मरण गरे । दुई देशको मित्रतालाई प्रगाढ र सुमधुर राख्न बेलायती संसद र सांसदहरुको भूमिका विशेष रहेको उनले उल्लेख गरे   

‘नेपालले सामना गरेका हरेक अफ्टेरो परिस्थितिमा बेलायत हाम्रो सहयोगमा उभिएको छ’ भूकम्पदेखि कोभिड महामारीसम्ममा प्राप्त सहायताको उदाहरण दिंदै प्रधानमन्त्रीले  भने,’ म तपाईं सांसदहरुमार्फत् बेलायत सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु।’

नेपालमा शान्ति स्थापनासंगै लोकतान्त्रिक र समावेशी संविधान बनेको र अब आर्थिक उन्नति देशको मूल प्राथमिकता रहेको उल्लेख गर्दै उनले बेलायतजस्ता मित्रराष्ट्रहरुको सहयोग र सहकार्य आवश्यक रहेको बताए ।  

 

त्यस अवसरमा बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय समितिका अध्यक्ष समेत रहेका सांसद वीरेन्द्र शर्माले नेपालसँगको मित्रता बेलायतका लागि विशेष महत्वको रहेको बताए । बेलायतमा नेपाली प्रधानमन्त्रीलाई स्वागत गर्न पाउंदा   खुशी व्यक्त गर्दै उनले नेपालसंगको सहकार्य थप निकट बनाउन बेलायत प्रतिवद्ध रहेको सुनाए ।  
कार्यक्रममा बेलायतको विपक्षी छाँया सरकारमा मन्त्री समेत रहेकी लेबर पार्टीकी सांसद क्याथरिन वेष्ट, पूर्वमन्त्री एवम् लर्ड मार्क लांकास्टर, लर्ड शेख लगायतले मन्तव्य राख्दै प्रधानमन्त्रीलाई बेलायतमा स्वागत गरेका थिए ।  

उनीहरुले प्रधानमन्त्रीलाई स्वागत र अन्तरक्रियाको अवसर जुटाउने बेलायतस्थित नेपाली समाजसेवी व्यवसायी रविजंग लामिछानेप्रति आभार प्रकट गरे ।  


नेपालमा परोपकार र सामाजिक सेवाका क्षेत्रमा निरन्तर र ठूलो योगदान पुर्‍याएका बेलायतका स्थापित व्यवसायी लामिछानेले प्रधानमन्त्रीको स्वागतमा बेलायती सांसद, राजनीतिक दलका प्रतिनिधि, व्यापारीसहितका भिआइपीहरुको जमघट जुराएका थिए ।  

बेलायत भ्रमणमा रहेका देशका प्रधानमन्त्रीको सम्मान तथा स्वागत कार्यक्रम संयोजन गर्ने अवसर आफ्नो लागि गौरवको विषय रहेको लामिछानेले सुनाए ।  

‘आफूसँग भएको नेटवर्क र सञ्जाल आफ्नै मातृभूमिका लागि उपयोग गर्नु मैले मेरो कर्तव्य ठानेको छु । आफ्नो ठाउँबाट सम्भव हुने जुनसुकै कार्यका लागि म सधैं तत्पर र प्रतिबद्ध छु’ उनले भने ।  

नेपालका प्रधानमन्त्रीप्रति सम्मान जनाउन कार्यक्रममा सहभागी हुने बेलायतका पूर्वमन्त्री, दुवै सदनका सांसदहरु, मेयर तथा काउन्सिलरहरुसहित, कूटनितिक व्यक्तित्व र बेलायती उद्धमीहरुप्रति लामिछानेले  विशेष आभार प्रकट गरे ।  

कार्यक्रममा बेलायतका लागि कार्यवाहक नेपाली राजदूत रोशन खनाल, पर्यटन दूत महन्त श्रेष्ठ, प्रधानमन्त्रीको भ्रमणटोलीका सदस्यहरु लगायतको पनि सहभागिता थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू