बिहीबार, चैत १५, २०८०
15:16 | २१:०१

बेलायती महारानीका तर्फबाट राजदूत लोकदर्शन रेग्मीलाई बिदाइ

नेपाली लिङ्क अक्टोबर २२, २०२१

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले बेलायती महारानी एलिजावेथ द्वीतीयाका तर्फबाट पनि बिदाइ पाएका छन् ।  

बेलायतमा राजदूत बनेर आएको ८ महिना नपुग्दै नेपाल फर्किने तयारीमा रहेका राजदूत रेग्मीलाई महारानीका प्रतिनिधि  शुक्रबार अपरान्ह लन्डन दूतावासमै आएर बिदाइ गरेका हुन्  

महारानीको प्रतिनिधिका रुपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन दूतावास आएर राजदूत रेग्मीको बिदाइ गरे । त्यसअवसरमा उनले महारानीले  हस्ताक्षर गरी पठाएको उनको तस्विर समेत राजदूत रेग्मीलाई उपहारस्वरूप हस्तान्तरण गरे ।

‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ बेलायती महारानीका ‘कूटनीतिक सम्बन्धहरु’ मा महारानीको प्रतिनिधित्व एवम् संयोजन गर्ने उच्च शाही अधिकारी हुन् । 

राजदूत रेग्मीका अनुसार आफ्ना प्रतिनिधिमार्फत् महारानी एलिजावेथ द्वीतीयाले उनलाई बिदाइ सन्देश समेत पठाएकी छन् ।जसमा रेग्मीले नेपाली राजदूतका हैसियतमा बेलायत आएर निर्वाह गरेका सम्पूर्ण भूमिकाहरुको लागि महारानीले धन्यवाद ज्ञापन गरेकी छन् । बेलायत तथा  नेपालको ऐतिहासिक मैत्रीसम्बन्ध आगामी दिनहरुमा थप मजबुद बन्दै जाने विश्वास पनि महारानीले व्यक्त गरेकी छन् ।  

राजदूत रेग्मीले पनि महारानीका प्रतिनिधमार्फत् आफ्नो तर्फबाट कृतज्ञता जाहेर गरेका छन् । नेपाली राजदूतका रुपमा बेलायतमा रहंदा महारानी, सरकार र बेलायती जनताबाट प्राप्त सद्भाव र सहयोगका लागि उनले आभार प्रकट गरे ।  

हालै कोभिड महामारीका बेला नेपाललाई बेलायतबाट प्राप्त सहयोगका लागि  पनि राजदूत रेग्मीले धन्यवाद ज्ञापन गरे । साथै, भूपू गोर्खाहरुको मुद्धामा हुन लागेको दुई देशबीचको वार्ता पनि सकारात्मक निष्कर्षमा पुग्ने आशा उनले व्यक्त गरेका छन् ।  

यसअघि कोभिड महामारीका कारण कार्यकालको शुरुमा ओहोदाको प्रमाणपत्र भर्चुअल माध्यमबाटै बुझाएका रेग्मीले बिदाइमा भने महारानीका प्रतिनिधिलाई  प्रतक्ष्य भेटेका छन्   

बेलायतमा नेपालको एक्काइसौँ राजदूतको रुपमा गत मार्च १ बाट कार्यभार सम्हालेका  रेग्मी नेपाल सरकारको निर्णयअनुसार यहि आइतबार नेपाल फर्किने तयारीमा छन् ।

बेलायतको छोटो बसाइ आफ्नो लागि अमूल्य र अविस्मरणीय रहेको राजदूत रेग्मीले बताउने गरेका छन् । छोटो अवधिमा पनि उनले बेलायातको  नेपाली समुदायमा पनि सकारात्मक छाप छोड्न सफल भएका छन्।

विशेषगरि लामो समयदेखि टुंगोमा पुग्न नसकेको  समान पेन्सनलगायतका माग राख्दै आन्दोलनरत भूपू गोर्खाहरुको आन्दोलनलाई वार्ताको टेबलमा पुर्याउन रेग्मीले महत्वपूर्ण योगदान गरे । दुवै देशको हित हुने गरी भूपू गोर्खाका आधारभूत मागहरू पेन्सन, क्षतिपूर्ति, कल्याणकारी,स्वास्थ्य लगायतका विषयमा बेलायत सरकार सकारात्मक रहेकोले यसपटक हुन् गइरहेको वार्ता सफल हुनेमा आफू विश्वस्त रहेको पनि रेग्मीले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू