मंगलबार, कार्तिक २, २०७८
05:55 | १०:४०

यूकेको रेड लिस्टबाट नेपाल हटेपछि यात्रुहरुमा उत्साह, तर झञ्झट कायमै

नेपाली लिङ्क अक्टोबर १३, २०२१

लन्डनस्थित ट्राभल कन्सोलको कार्यालय । यूकेको रेड लिस्टबाट नेपाल हटेपछि ट्राभल एजेन्टहरुको व्यापार पनि बढेको छ ।

लन्डन । बेलायतले अन्तरराष्ट्रिय यात्राका लागि लागू गरेको रेड लिस्ट हटेपछि बेलायतबाट नेपाल जाने र नेपालबाट बेलायत आउने यात्रुहरुको संख्या ह्वात्तै बढेको छ ।

नेपालीहरुको महान पर्व दशैंको मुखमा रेड लिस्टबाट बाहिरिएका कारण पनि बेलायतस्थित उल्लेख्य संख्याका नेपालीहरु अहिले धमाधम नेपाल गइरहेका छन् ।

रेड लिस्टबाट बाहिरिएपछि अब नेपालबाट आउने यात्रुहरुले बेलायतमा २२ सय पाउण्ड बढीको शुल्क बुझाएर ११ दिन होटेल क्वारेन्टिन बसिरहनुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् । जसकै फलस्वरुप लामो समय नेपालमै रोकिएका पूर्व गोर्खा, विद्यार्थीसहितका धेरै नेपाली पनि सामान्य बेलाभन्दा निकै ठूलो संख्यामा अहिले बेलायत फर्किरहेका छन् ।

बेलायतस्थित ट्राभल एजेन्ट कम्पनी ट्राभल कन्सोलका निर्देशक विराज भट्टका अनुसार रेड लिस्टबाट हटेलगत्तै बेलायतबाट नेपाल जाने तथा नेपालबाट बेलायत फर्किने दुवै खालका यात्रुहरुको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ । तर पिसिआर टेस्ट, ट्राभल इन्सुरेन्स, नेपालको सिसिएमसी र बेलायतको प्यासेन्जर लोकेटर फारम जस्ता झञ्झट कायमै रहेका कारण यात्रुहरुमा पूर्ण उत्साह भने अझै आउन सकेको छैन ।

‘एअरलाइन्सहरु कुनै पनि जोखिम लिन तयार छैनन् । कतिपयले यात्रुको ट्राभल इन्सुरेन्सलाई समेत अनिवार्य गरेका छन्’, उनले भने, ‘यस्तै झञ्झटले गर्दा अझै पनि यात्रुहरु पहिलेकै अवस्थामा निर्धक्क भएर यात्रामा निस्किन सक्ने अवस्था बन्न सकेको छैन ।’

ट्राभल कन्सोलका निर्देशक विराज भट्ट

यात्रुलाई सहयोगको व्यवस्था 

यात्राका क्रममा पूरा गर्नुपर्ने मापदण्ड र तयार पार्नुपर्ने डकुमेन्टसम्बन्धि जानकारीका अभावमा कयौं यात्रुले सास्ती भोगिरहेको भट्टले सुनाए । ‘आवश्यक सबै डकुमेन्टको अभावमा कयौं यात्रु एअरपोर्टबाट फर्किनुपरेको पनि हामीले देखेका छौं’, उनी भन्छन, ‘त्यसैले मापदण्ड र डकुमेन्टहरुबारे राम्ररी बुझेर मात्रै यात्रामा निस्किन मेरो सुझाव छ ।’

यात्रुहरुले व्यहोरिरहेको यही कठिनाइलाई सम्बोधन गर्न अहिले ट्राभल कन्सोलले टिकेटिङ बाहेकका अन्य सुविधा पनि उपलब्ध गराइरहेको निर्देशक भट्टले बताए ।

‘हामीले पिसिआर टेस्ट बुक गर्नका साथै यहाँका ल्याबसंगको समन्वयमा हाम्रो अफिसबाटै पिसिआर टेस्ट दिन सकिने व्यवस्था पनि मिलाएका छौं । त्यस्तै, नेपालको सिसिएमसी र बेलायतको प्यासेन्जर लोकेटर फारम भर्न कठिनाइ हुने यात्रुका लागि पनि हामीकहाँ सम्पर्क राख्नुभयो भने आवश्यक सहयोग उपलब्ध गराउँछौं’, उनले भने ।

गत सोमबारबाट लागू हुने गरी बेलायतले नेपाललाई रेड लिस्टबाट हटाएको हो । अब नेपालबाट बेलायत आउने यात्रुहरुले होटेल क्वारेन्टिन बस्नुपर्ने छैन । कोभिड खोपका दुवै डोज लगाएका ‘फुल्ली भ्याक्सिनेटेड’ यात्रुहरुले बेलायत आएको दोस्रो दिनका लागि पिसिआर टेस्ट प्रिबुक गर्नुपर्नेछ भने खोपको दुवै डोज नलगाएकाहरुले दोस्रो र आठौं दिनका लागि दुई वटा पिसिआर टेस्ट बुक गरेको हुनुपर्नेछ ।

‘फुल्ली भ्याक्सिनेटेड’ यात्रुहरुको लागि अक्टोबरको अन्त्यदेखि पिसिआर टेस्टको मापदण्ड समेत खुकुलो पार्दै जाने योजना बेलायत सरकारले सार्वजनिक गरेको छ । तर त्यसअघि तत्कालीन अवस्थाको रिभ्यू गरेर मात्रै नियम परिवर्तनको घोषणा हुने अपेक्षा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू