शुक्रबार, चैत १६, २०८०
13:23 | १९:०८

साइथ इष्ट लन्डनमा आरजीएनएसको दशैंतिहार जमघट आइतबार

नेपाली लिङ्क अक्टोबर १३, २०२१

लन्डन । साउथ इष्ट लन्डनस्थित नेपालीहरुले यस वर्षका दशैंतिहार यसै साता सामूहिक रुपमा मनाउने भएका छन् ।

‘रोयल बरो अफ ग्रीनवीच नेपाली सोसाइटी’ (आरजीएनएस) को आयोजनामा अक्टोबर १७ तारिख आइतबारका दिन वुल्लीचस्थित मुलग्रेभ प्राइमरी स्कुलको हलमा ‘दशैंतिहार शुभकामना साँझ’ तय भएको छ ।

रोयल बरो अफ ग्रीनवीचकी मेयर डेनिस हाइल्याण्डको प्रमुख आतिथ्यमा हुन लागेको कार्यक्रममा बेलायती सांसद अबेना ओपोंग असारेसहित स्थानीय काउन्सिलहरुको पनि उपस्थिति रहने आरजीएनएस महासचिव मञ्जु भण्डारीले जनाइन् ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावास, एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरसहित नेपाली संघसंस्थाका प्रतिनिधिलाई पनि विशेष अतिथिको रुपमा निमन्त्रणा पठाइएको उनले बताइन् ।

कार्यक्रममा शुभकामना आदानप्रदानका साथै विशेष मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरु पनि गरिनेछ । त्यस्तै, लोकप्रिय गायिका शर्मिला बर्देवासंगै दीपक थापा, प्रमोदराज न्यौपाने, सुजन पराजुली, नील पुन लगायतका स्थानीय गायकहरुको सांगीतिक प्रस्तुति गर्नेछन् । इनास यूके अध्यक्ष विनोद चिपालु र प्रतिभा नक्षेत्रसहितका समूहले सांस्कृतिक नृत्यहरु पनि देखाउनेछन् । त्यसबाहेक डिजे हेम विष्टको पनि प्रस्तुति रहनेछ ।

आरजीएनएस अध्यक्ष जीत रानाभाटका अनुसार दशैंतिहार पर्वको अवसरमा स्थानीय नेपालीहरुबीच रमाइलो जमघट र शुभकामना बाँड्न कार्यक्रम गर्न लगाएको हो । लामो समयको लकडाउन र महामारीको त्रासदीबीच हुन नपाएको जमघटका लागि कार्यक्रम सुखद अवसर बन्ने अपेक्षा छ ।

आरजीएनएसले कार्यक्रमबाट संस्थाको लागि कोष संकलन गर्ने योजना पनि बनाएको छ । प्रायोजक तथा टिकट शुल्कबाट जम्मा हुने कोषमध्ये खर्चबाहेकको रकम बेलायत तथा नेपालस्थित बालबालिका र वृद्धवृद्धाको सहयोगार्थ कल्याणकारी कोषमा जम्मा गराइने अध्यक्ष रानाभाटले बताए ।

साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रममा प्रवेश शुल्क १० पाउण्ड राखिएको छ । कार्यक्रममा सहभागिताको लागि साउथ इष्ट लन्डनबासी सम्पूर्ण नेपालीहरुलाई आरजीएनएसले आव्हान गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू