शुक्रबार, वैशाख ७, २०८१
10:13 | १४:५८

एनआरएनए अध्यक्षमा आचार्यको उम्मेद्वारी घोषणा

नेपाली लिङ्क सेप्टेम्बर २६, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को भावी नेतृत्वका लागि कुल आचार्यले उम्मेद्वारी घोषणा गरेका छन्  ।

संघका सल्लाहकार तथा पूर्व उपाध्यक्ष आचार्यले आइतबार काठमाडौंमा एक विशेष समारोह गरी २०२१–२०२३ कार्यकालको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै आचार्यले एनआरएनएलाई सही अर्थमा आम प्रवासी नेपालीहरुको साझा संस्था बनाउने उद्घोष गरे । 

‘यो अभियानलाई सबैको सहभागिता र अपनत्व सिर्जना गरेर पूर्णता दिने छु । पैत्रिक सम्पतिको अधिकार, राहदानीसहित तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्न सर्वोच्च प्राथमिकता दिने छु’, उनले भने ।  

अध्यक्ष पदका उम्मेदवार आचार्यले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर एनआरएनएको पन्जीकृत सदस्य संख्या पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषद्हरुको संख्या कम्तीमा एक सय पुर्याउने घोषणा गरेका छन् । हाल एनसीसीको संख्या ८४ रहेपनि कतिपय एनसीसीहरु निष्कृय रहेका छन् भने संघका पन्जीकृत सदस्यहरुको संख्या एक लाखको हाराहारीमा छ ।

गैरआवासीय नेपालीहरुलाई मात्रै नभई संसारका विभिन्न देशमा रहेका नेपाली मूलका मानिसहरुलाई पनि जोड्ने उनको योजना छ । थाइल्याण्ड, म्यानमार लगायतका मुलुकमा बसोबास गर्ने नेपालीलाई ‘पिपुल अफ नेपाली ओरिजिन’ (पिएनओ) को मान्यता दिलाउन पहल गर्ने आचार्यले घोषणा गरे 

संघको दशौं विश्व सम्मेलन आगामी अक्टोबर २३–२५ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले अनलाइन माध्यमबाट एकसाथ मतदान गराउने तयारी गरेको छ ।

करिव दुई दशकदेखि एनआरएन अभियानमा सक्रिय आचार्यले आफ्ना कार्ययोजना सार्वजनिक गर्दै संगठनको सुदृढीकरण र संस्थागत पारदर्शिताको मुद्दालाई प्राथमिकतामा राखेको बताए ।

अध्यक्षका प्रत्यासी आचार्यले वैदेशिक रोजगारीलाई थप व्यवस्थित र मर्यादित बनाउने भन्दै मध्यपूर्व, मलेसिया लगायतका मुलुकमा काम गर्ने नेपालीहरुको सुरक्षामा पनि विशेष ध्यान दिने घोषणा गरे । उनले वैदेशिक रोजगारीमा रहेका र थपिने नेपाली महिला कामदारको सुरक्षा र सीपको विकासमा संघले संस्थागत रुपमा ध्यान दिने उनले बताए 

विदेशमा नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्दै संसारभरि नेपालको पर्यटन प्रवर्द्धनका लागि अभियान चलाउने उनको योजना छ । प्रवासी नेपालीहरुको खेलकुदप्रतिको चाहना र आकर्षणलाई सम्बोधन गर्न एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने घोषणा पनि आचार्यले गरे ।

नेपालमा गैरआवासीय नेपालीहरुको लगानी मात्रै नभई प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि आफूले पहल गर्ने बताउँदै आचार्यले भने, ‘विदेशी लगानी भित्र्याउन केही कानुनी जटिलता छन्, त्यसलाई सुल्झाउनुपर्छ, मेरो ध्यान यसमा केन्द्रित हुने छ ।’ ‘नेपालबाट अवैधरुपमा विदेश गइरहेको सम्पत्तिलाई रोकी  नेपालमै लगानीको वातावरण बनाउनु पनि मेरो अर्को प्राथमिकता हो’, उनले भने ।

संघका अग्रज अभियन्ताहरुलाई सम्मान गर्दै संघको अभियानमा नयाँ पुस्तालाई सक्रिय बनाउने आफ्नो उद्देश्य रहेको आचार्यले बताए । ‘युवा र महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर सांगठनिक कामलाई अगाडि बढाउने छु’, उम्मेदवारी घोषणासभामा उनले भने । संघलाई राजनीतिक रुपमा नभई सेवा भावका आधारमा सञ्चालन गर्ने उनले बताए ।

एनसीसी यूकेबाट संघको यात्रा थालेका आचार्यले एनआरएनए यूकेको अध्यक्ष, आइसीसी सदस्य, यूरोप क्षेत्रको संयोजक, आइसीसी उपाध्यक्ष र सल्लाहकारका रुपमा काम गरेका छन्। आचार्यले अगाडि सारेका एजेण्डा र प्रतिबद्धतासँग सहमति जनाउँदै आइसीसीका अन्य पदमा पनि उम्मेदवारी घोषणा भएको छ ।

आचार्यका मुख्य कार्ययोजना:

– पैत्रिक सम्पतिको अधिकार, राहदानी तथा तेश्रो पुस्ता पछि पनि कायम रहने गरी गैरआवासीय नेपाली नागरिकतालाई कार्यान्वयन गर्ने ।

– म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई पिपुल अफ नेपाली अरिजिन (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने ।

– संघका पंजीकृत सदस्यहरुको संख्या ५ लाख पुराउने ।

– राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने 

– नेपाल सरकार तथा निजी क्षेत्रसंगको सहकार्यमा ‘एनआरएनए सीप विकास केन्द्र’ स्थापना गरिने ।

– बढी भन्दा बढी मुलुकहरुसंग  द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न संस्थागत पहल गरिने छ।  

– खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडि बढाइने छ ।

– कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गरिने छ ।

– एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग सम्झौता गरिने छ ।

– विदेशमा हुर्की रहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न अनलाइन कक्षाहरु संचालन गरिने छ ।

– एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गरिने छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू