बिहीबार, वैशाख १३, २०८१
01:03 | ०५:४८

लन्डनमा सिग्नेचर समूहको ‘वाटरमेलन कप’ तयारी

नेपाली लिङ्क सेप्टेम्बर २४, २०२१

लन्डन । बेलायतका नेपाली खेलाडीहरुमाझ आगामी डिसेम्बर पहिलो साता एक फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।  

लन्डनस्थित ‘द सिग्नेचर मिडिया एन्ड इभेन्टस्’ को आयोजना र वाटरमेलन मोर्गेजेजको प्रायोजनमा डिसेम्बर ४ तारिख ‘वाटरमेलन कप’ फुटबल हुने भएको हो ।

७ ए साइड प्रतियोगिता लन्डन हन्सलोको क्र्यानफोर्डस्थित क्र्यानफोर्ड सुपरडोममा संचालन हुनेछ । 

प्रतियोगिताका विजेतालाई नगद १ हजार पाउन्ड तथा उपविजेतालाई नगद ५ सय पाउन्डसहितको पुरस्कार प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रतियोगितामा भाग लिन ईच्छुक समूहले २ सय पाउन्ड प्रवेश शुल्क बुझाउनुपर्नेछ ।  

‘द सिग्नेचर मिडिया एन्ड इभेन्टस्’ को आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजक वाटरमेलन मोर्गेजेज् हो । त्यसबाहेक डि लाउञ्ज, सिटी स्टोर, मम स्टेसन, पानस नेप्लिज रेस्टुरेन्ट अल्डरसट, द प्यालेस, ह्याम्पशायर एकाउन्टेन लगायतको पनि सहकार्य छ ।

प्रतियोगितामा सहभागी हुन बेलायतभरका कुल ३५ टीमले नाम दर्ताका गराएको आयोजक ‘द सिग्नेचर मिडिया एन्ड इभेन्टस्’ ले जनाएको छ । जसमध्ये आगामी नोभेम्बर १६ भित्र प्रवेश शुल्क  बुझाउने ३२ टीमलाई ‘फर्स्ट कम, फर्स्ट सर्भ’ का आधारमा प्रतियोगितामा सहभागी गराइनेछ ।  

आयोजक समूहका दिपेश राईका अनुसार प्रतियोगितामा लन्डन र अल्सरसट आसपसबाहेक म्यान्चेस्टर, अक्सफोर्ड, ननिटन, बर्मिङहम, वेल्स लगायतका क्षेत्रबाट खेलाडीहरुले भाग लिंदैछन् ।

त्यस्तै, बेलायती सेनामा कार्यरत गोर्खाहरुको टीम साथै पाकिस्तानी, चाइनिज खेलाडीहरुका छुट्टाछुट्टै टीमले पनि प्रतियोगितामा नाम दर्ता गराएका छन् ।

प्रतियोगिताका खेलहरु सञ्चालन गर्न बेलायतकै क्वालिफाइड रेफ्रीहरु व्यवस्था गरिएको आयोजकले जनाएको छ । 

बेलायतमा सफल इभेन्ट आयोजकका रुपमा स्थापित ‘द सिग्नेचर मिडिया एन्ड इभेन्टस्’ को आयोजनामा सन् २०१७ देखि यो प्रतियोगिता हुँदै आएको छ । गत वर्ष महामारीका कारण रोकिएको प्रतियोगिता यस वर्ष चौंथो संस्करण हो ।  

सिग्नेचरले बेलायतमा वर्षेनी नेपाली न्यू इयर कार्यक्रम, डिसेम्बर माइनस डिजे नाइट लगायत लोकप्रिय कार्यक्रम गर्दै आएको छ ।

नेपालका ख्यातिप्राप्त कलाकार ल्याएर बेलायतमा थुप्रै कार्यक्रम गरिसकेको यो समूहले सन् २०१८ मा बेलायत र अमेरिकास्थित नेपाली कलाकारहरुको सहभागितामा लन्डन, न्यूयोर्क र सिड्नीमा ‘प्रोजेक्ट एक्स’ शो पनि आयोजना गरेको थियो ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू