बिहीबार, वैशाख १३, २०८१
05:16 | १०:०१

बेलायतमा बन्यो भिसी कुलवीर थापाको सालिक

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२१

लन्डन । बेलायतस्थित अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रथम  भिक्टोरिया क्रस विजेता गोरखा सैनिक कुलवीर थापाको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार स्थानीय रसमोर काउन्सिल र ग्रेटर रसमोर नेपाली समुदायको संयुक्त पहलमा थापाको सालिक प्रतिस्थापन गरिएको छ ।

उक्त अवसरमा बेलायती रक्षा राज्यमन्त्री लियो डोचर्टीको पनि उपस्थिति थियो । उनले गोर्खा मेमोरियल प्रोजेक्टका सदस्यका साथै मूर्तिकार एमी गुडम्यानलाई भेटेर जानकारी लिएका थिए ।

डोचर्टीले सामाजिक संजालमार्फत भिसी कुलवीर थापाको सालिक गोर्खा ब्रिगेड र ब्रिटिश सेनाबीचको लामो समयदेखि ऐतिहासिक सम्बन्धको प्रतीक भएको धारणा व्यक्त गरेका छन् ।

यहि सेप्टेम्बर २५ तारिख उद्घाटन हुने उक्त सालिक निर्माण खर्च बेलायतस्थित नेपाली समुदायले संकलन गरेका हुन् ।

भिक्टोरिया क्रस प्राप्त गर्ने प्रथम गोर्खा सैनिक कुलवीर थापालाई सम्मान स्वरूप राखिएको उक्त सालिक निर्माणमा करिब एक  लाख ८५ हजार पाउण्ड अर्थात तीन करोड रुपैयाँ खर्च लागेको छ । कास्य धातु प्रयोग गरिएको उक्त शालिकमा एक घाइते सैनिकलाई युद्ध मैदानमा बोक्दै गरेको दृश्य देखाइएको छ ।

भिसी कुलवीर थापा पहिलो विश्वयुद्धमा बेलायतको उच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्राप्त गर्ने पहिलो गोर्खा सैनिक हुन् ।

सन् १८८९  डिसेम्बर १५ का दिन पाल्पा जिल्लामा जन्मिएका थापालाई १९१५ मा फ्रान्सको लू युद्धमा देखाएको बहादुरीका कारण भिक्टोरिया क्रस (भिसी) बाट सम्मान गरिएको थियो ।

प्रथम विश्व युद्धमा घाइते एक ब्रिटिश र दुई गोर्खा सैनिकलाई बचाएर बहादुरी प्रदर्शन गरेका थापाको सन् १९५६ मा निधन भएको थियो । उनको सम्मान स्वरूप बेलायतमा  सन् २०१५ मा उनको तस्विर अंकित हुलाक हुलाक टिकट समेत प्रचलनमा ल्याइएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू