आइतबार, ८ फ्रेब्रवरी, २०२६
08:24 | १४:०९

लन्डनमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन उद्घाटन

नेपाली लिङ्क सेप्टेम्बर १८, २०२१

लन्डन —  शनिबार यहाँस्थित नेपाली दूतावासमा तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनको औपचारिक शुरुवात गरिएको छ । 

बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए।  

उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए।  

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । 

उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए । महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए । 

उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने जानकारी दिए। 

नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिटले ब्रिटेनले नेपालको स्वास्थ्य सेवालाई बलियो बनाउन लामो समयदेखि सघाउदै आएको बताइन् । 

उनले कोभिड १९ संग जुध्न ब्रिटेनले नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन्। 

उनले सबै जनतालाई खोप पुराउन तथा कोभिड १९ संग जुध्न नेपाल सरकारले गरिरहेको काममा सघाउन अन्तर्राष्ट्रिय समुदाय तयार रहेको पनि बताइन्।

सम्मेलनको सह-आयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले सम्मेलनकै क्रममा आइतबार भूतपूर्व गोर्खा लगायत नेपाली समुदायको स्वास्थ्य परिक्षण तथा च्यारिटी डिनर आयोजना गरिएको जानकारी दिए । 

सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले ‘हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ’ भन्ने विषयमा छलफल भइरहेको बताए।  

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, नेपाल नर्सिङ संघकी अध्यक्ष प्रा. मन कुमारी राई, रोयल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, रोयल कलेज अफ नर्सिङकी उपाध्यक्ष ट्रेसी बडिङ, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, एनआरएनए महासचिव डा. हेमराज शर्मा लगायतका वक्ताले शुभकामना दिएका थिए।  

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा पदम सिम्खडा तथा डा बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए। 

त्यस्तै डा एलिनी सुवेदी पोखरेलले संघको स्वास्थ्य समितिले भारतमा संचालन गरेको कार्यक्रमबारे जानकारी दिइन् ।  

कार्यक्रम संचालन आयोजक समिति सदस्य प्रसुना कँडेलले गरेकी थिइन् भने लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले सबै सहभागीहरुलाई स्वागत गरेकी थिइन्। 

शुक्रबार बिहान भर्चुएल माध्यमबाट शुरु भएको सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुनेछ ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू