मंगलबार, वैशाख ११, २०८१
12:17 | १७:०२

सन्दीपले बिग बास लिग पुनः होबार्टबाट खेल्ने

रासस अगस्ट २६, २०२१

काठमाडौं । नेपाली लिग स्पिनर सन्दीप लामिछानेले ११औँ संस्करणको बिग बास लिग (बिबिएल) पुनः होबार्ट हुरिकेन्सबाट खेल्ने भएका छन् ।

अष्ट्रेलियामा आगामी मङ्सिर १९ देखि माघ १४ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि होबार्टले लामिछानेलाई आज पुनःअनुबन्ध गरेको हो ।

गत वर्ष पनि उनी सोही टोलीमा अनुबन्धित भएका थिए । होबार्टले लामिछानेलाई यस यामका लागि पहिलो अन्तर्राष्ट्रिय खेलाडीका रुपमा टोलीमा अनुबन्ध गरिएको जनाएको छ ।

गत वर्षको बिबिएलमा उनले आठ खेलमा आठ विकेट लिएका थिए । लामिछाने बिबिएल खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

लामिछानेले बिबिएलमा हालसम्म तीन वटा संस्करण खेल्दा २९ खेलमा ३४ विकेट लिइसकेका छन् । सन् २०१८ मा पहिलो पटक मेलवर्न स्टार्सबाट बिबिएल खेल्दा उनले आठ खेलमा ११ विकेट लिएका थिए । सन् २०१९ मा दोस्रो पटक बिबिएलमा उनले १३ खेलमा १५ विकेट लिएका थिए ।

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नका लागि उनी हाल ओमानमा छन् ।

उक्त सिरिजका कारण लामिछानेले यस पटकको क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता त्यागेका थिए ।

यसपटक उनले राहदानीको समस्याका कारण बेलायतमा भएको द हन्ड्रेड क्रिकेट र भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट प्रतियोगिता गुमाउनुपरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू