शनिबार, वैशाख ८, २०८१
07:31 | १२:१६

बेलायतमा खेतीमा रमाउंदै भूतपूर्व गोर्खाहरु (भिडियोसहित)

नेपाली लिङ्क अगस्ट २६, २०२१

लन्डन । बेलायतको राजधानी लन्डनबाट करिब ७२ माइल टाढा छ इष्ट्ली शहर । यो शान्त शहरलाई न 
राजधानीको कोलाहल वास्ता छ, न कोभिड त्रास । बरु यतिखेर खेतीमा व्यस्त छन् यहांका बासिन्दा । तिमध्ये हुन् भूतपूर्व गोर्खाहरु ।

इष्टली बरोले कोभिड महामारीमा समुदायमाझ उल्लेखनीय काम गरेर ‘लोकल हिरो’ सम्मान पाएका भूतपूर्व गोर्खा कमल पूर्जा सप्ताहन्त खुबै व्यस्त देखिए ।

‘लन्डनबाट नेपालीहरु तरकारी किन्न आउने भन्नु भएको छ । नजिकको फुड ब्यांकमा पनि मानिस कुरिरहेका छन्, सबै चांजोपांजो मिलाउन अलिक व्यस्त छु’, पूर्जाले भने ।

फार्म प्रोजेक्ट इन्चार्ज पूर्जालाई म्यानेजरहरु रानीमाया पुन र प्रेमकमारी गुरुङले पनि सघाउंदै थिए ।

स्थानीय जमिन्दार किसान हेनरी रसेलले इष्टली गोर्खा नेपलिज एसोसिएसनलाई सित्तैमा उपलब्ध गराएको झण्डै एक हेक्टर खेतबारीमा यतिखेर सिजनल तरकारी कांक्रो, सिमी, फर्सी, आलु प्याज, सागसब्जी, स्याउ, अंगुर फलेका छन् ।

एसोसिएसन आवद्ध स्वयंसेवी गोर्खाहरु फूर्सद मिलाएर हाइब्रीज फार्ममा खेती गर्छन् । फलेको तरकारी फलफूल गरिब, असहायलाई ख्वाउने नजिकै फुड ब्यांकलाई निशुल्क बांडिन्छ । कतिपयले खेती गर्न आर्थिक सहयोग (च्यारिटी) दिन्छन् र त्यो वापत तरकारी लैजान्छन् ।

‘वृद्धवृद्धा गोर्खा परिवारलाई फूर्सदको समय बिताउने थलो पनि भएको छ खेतबारी’, पूर्जाले सुनाए, ‘स्वस्थ्य रहनमात्र होइन, हामी खेती किसानी गरेरै बेलायत आएकाले त्यसलाई निरन्तरता दिन पनि यता भुलेका हौं । यहीं पिकनिक गर्छौं, दुःख सुःख गफिन्छौं । तर, जनशक्ति अभावले खेती र रेखदेख गर्न चुनौति छ ।’

सन् २००९ देखि हाइब्रीज फार्ममा खेती गर्न थालिएको बताउंछन् इष्टली गोर्खा नेपलिज एसोसिएसन अध्यक्ष तीर्थबहादुर पुन ।

झण्डै एकसय हेक्टर जमिनका मालिक हेनरी गोर्खाहरुले ब्रिटेनलाई गरेको योगदान स्वरुप आफूले जग्गा उपलब्ध गराएको बताउंछन् ।

‘पहिला मरुभूमि जस्तो जमिनलाई गोर्खाहरुले अहिले हरियाली बनाएका छन् । उनीहरु रमाएको देख्दा मलाई खुशी लाग्छ । म यहां नियमित आइराख्छु’- हेनरीले भने । उनी आफ्नो मरणपछि पनि गोर्खाहरुले जमिन सदुपयोग गरिदिउन् भन्ने लाग्छ ।

इष्टली बरोका पूर्व काउन्सिलर मोहम्मद मोसादक (ओबीइ) जो एसोसिएसनका ट्रष्टी पनि हुन्, उनी आफ्नो छिमेकी बनेका गोर्खाहरुसंग निकै प्रभावित छन् ।  ‘वास्तवमा गोर्खाहरु सहयोगी, इमान्दार र मिहेनति छन्’, उनले भने, ‘फार्म प्रोजेक्टले स्थानीय समुदायसंग अन्तरघुलन पनि गराएको छ ।’

अर्का ट्रष्टी एवं अध्यागमन सल्लाहकार महेश दाहाल भूतपूर्व गोर्खाहरु आफ्ना सन्तानबाट टाढिएर एक्लो महशुस गरिरहेका बेला खेतीमा रमाइरहेका बताउंछन् । अंग्रेजी भाषा र इन्ट्रीगेसन (अन्तरघुलन) समस्याबीच अन्य शहरमा रहेका गोर्खाहरुलाई पनि यस खालको काममा लाग्न सुझाउंछन् उनी ।

भिडियो पनि  हेरौं-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू