शुक्रबार, वैशाख १४, २०८१
02:18 | ०७:०३

लन्डनमा भूतपूर्व गोर्खाहरुको भोक हड्ताल शनिबारदेखि

योबाहेक अन्य विकल्प रहेन्ः ज्ञानराज राई

नेपाली लिङ्क अगस्ट ६, २०२१

लन्डन । २१ जुलाइदेखि रिले अनसन गरिरहेका भूतपूर्व गोर्खाहरुले आउंदो शनिबारदेखि भोक हड्तालजस्तो अप्रिय आन्दोलन शुरु गर्ने तयारी गरेका छन् ।

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिको आव्हानमा १७ दिनको रिले अनसनपछि शनिबार देखि भोक हड्ताल नै गर्ने निर्णय भएको एकजना अभियन्ता तथा सत्याग्रह समितिका अभियान निर्देशक ज्ञानराज राईले बताए ।

भोक हड्तालमा भूपू गोर्खाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बस्ने छन् । पुष्पा भोक हड्ताल बस्नैका लागि नेपालबाट आएकी हुन् । उनले कोभिड भ्याक्सिन र होटल क्वारेन्टिन बस्नु परेकाले पूर्व निर्धारित कार्यक्रम अनुसार केही दिन ढिला आमरण अनसन हुन लागेको हो ।

‘दोश्रोपटक भोक हड्तालमा बस्न अलि अलि डर त लागेको छ तर अन्य विकल्प पनि छैन् । बोलेपछि पुरा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो’, राईले नेपालीलिंकसंग भने ।

सत्याग्रहले आफ्ना माग र कार्यक्रमबारे अवगत गराउन नेपालमा अन्तर्राष्ट्रिय सम्बन्ध संसदीय समिति, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल प्रचण्डसंग लगायतसंग भेट गरिसकेको छ भने प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट्ने तयारी छ । नेपाल सरकार आफ्ना मागमा सकारात्मक भएपनि बेलायतले वास्ता नगरेको गोर्खाहरुको आरोप छ ।

‘हामी बेलायतले पेन्सन बढाउंछौं नगर भनेको भरमा मान्ने कुरै आएन् । केही प्रतिशत पेन्सन बढाउने मात्र होइन्, ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको भावनाअनुसार समान अधिकार पाउनुपर्छ भन्ने हाम्रो माग हो’, राईले भने, ‘हामी गोर्खा र ब्रिटिश सरकारबीच सहमति भएर पनि हुंदैन । नेपाल र बेलायत सरकारबीच सहमति हुनुपर्छ । दुई सरकारबीच वार्ता हुन्छ भनेर मिति र उच्चस्तरिय वार्ता समिति बने भोक हड्ताल छाड्छौं ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू