बिहीबार, चैत १५, २०८०
09:34 | १५:१९

बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह

सन्दर्भ: बाघ दिवस

भीष्मराज ओझा/रासस जुलाइ २९, २०२१


काठमाडौँ, १४ साउन–हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व: मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ ।

नेपालमा केन्द्रीय र स्थानीयस्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी विश्व बाघ दिवस मनाउन लागिएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयसँगको समन्वयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आज वन परिसर बबरमहलमा बाघ संरक्षणसम्बन्धी होर्डिङ बोर्ड राख्ने, प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा बाघ संवाद कार्यक्रम गर्ने, बाघको बासस्थान र वन्यजन्तुमैत्री पूर्वाधार निर्माणसम्बन्धीलगायत कार्यक्रम गर्न लागेको विभागका सूचना अधिकारी हरिभद्र आचार्यले जानकारी दिए । यसबाहेक स्थानीयस्तरमा पनि विभिन्न कार्यक्रम गरिन लागेको छ ।  

पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

सो प्रतिबद्धताअनुसार नेपालले सन् २००९ को गणनाअनुसार नेपालमा रहेका तत्कालीन बाघको सङ्ख्या १२१ लाई दोब्बरभन्दा पनि बढी २५० वयस्क बाघ पुरयाउने प्रतिबद्धता गरेको थियो । जुन लक्ष्य हासिल हुने दिशामा नजिक छ ।

मन्त्रालयले पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ मा गरेको थियो । उक्त गणनाअनुसार नेपालमा बाघको सङ्ख्या २३५ पुगेको छ । चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरिएको थियो । 

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१ र सन् २०१३ मा १९८ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ ।

विश्वको सन्दर्भमा सन् २०१६ को तथ्याङ्कअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २२६, सबैभन्दा कम लाओसमा दुई बाघको सङ्ख्या थियो । इण्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेशिया, म्यान्मा, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने तीन हजार ८९० रहेको छ ।

नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिलोमिटर क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किलोमिटर (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको विभागको तथ्याङ्क छ ।

मुलुकले जैविक विविधता संरक्षणका क्षेत्रमा आशलाग्दो उपलब्धि हासिल गरेकाले र बाघ गणनाको पछिल्लो नतिजाले पनि सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर (२५० वयस्क बाघ) पुरयाउने मुलुकको प्रतिबद्धता पूरा हुने विश्वास गरिएको छ ।

गत वर्ष बाघको आक्रमणबाट डेढ दर्जन व्यक्तिको मृत्यु    

पछिल्लो समय वन्यजन्तु मैत्री पूर्वाधार निर्माण नहुँदा बासस्थानमा आएको सङ्कुचनका कारण र सङ्ख्यामा भएको वृद्धिले आहाराको खोजीमा बाघ मानवबस्तीसम्म पुग्दा मानवसँगको बढ्दो द्वन्द्व बाघ संरक्षणको प्रमुख चुनौती बनेको छ ।

गत आर्थिक वर्षमा मात्र बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा बाघको आक्रमणमा परी करिब एक दर्जन व्यक्तिको मृत्यु भएको विभागका सूचना अधिकारी आचार्यले बताए । 

त्यस्तै चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको आक्रमणबाट पाँच जनाको निधन भएको थियो भने पर्सा राष्ट्रिय निकुञ्ज तथा बर्दियामा सवारी दुर्घटनाबाट दुई बाघ मरेको विभागको तथ्याङ्क छ ।

मन्त्रालयले वन्यजन्तुबाट हुने क्षतिमा राहत दिन राहत तथा क्षतिपूर्तिसम्बन्धी निर्देशिका जारी गरी वन्यजन्तुबाट निधन भएका प्रतिव्यक्तिका परिवारलाई रु १० लाख, घाइतेको उपचार तथा बालीनाली र अन्य भौतिक क्षतिमा समेत राहत दिने गरेको छ । 

यसका साथै बाघको सङ्ख्याअनुसार बासस्थानको व्यवस्थापनमा कठिनाइ, पहाडतिर (इलाम र डडेल्धुरा) पनि बाघ देखिन थालेपछि सो क्षेत्रमा संरक्षित क्षेत्र नभएकाले व्यवस्थापनमा कठिनाइ, मानव बस्तीमा बाघ पस्दा मानवीय क्षति र घाइते बाघको उद्धारमा कठिनाइ, तराईमा सडक, सिँचाइ, रेलमार्गजस्ता लामो प्रकृतिका निर्माणले बासस्थानलाई खण्डीकरण गर्ने गरेको, बाघको चोरी शिकारीलगायत पनि प्रमुख चुनौतीका रुपमा देखा परेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू