शुक्रबार, चैत १६, २०८०
13:26 | १९:११

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

नेपाली लिङ्क जुलाइ १८, २०२१

काठमाडौं–प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा देउवाले विश्वासको मत लिएका हुन् ।

आज भएको मतदानमा प्रधानमन्त्रीका पक्षमा १६५ मत र विपक्षमा ८३ मत परेको छ । मतदानमा २४९ सांसदले भाग लिएका थिए । सभामुख अग्निप्रसाद सापकोटाले एकजना सांसदले मतदान नगरेको जानकारी दिए ।

सभामुखले नेपालको संविधानको धारा ७६ को उपधारा ६ बमोजिम प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेको घोषणा गरेका थिए ।

प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली कांग्रेस ६१, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा स्वतन्त्र एक सांसद छन् ।

गत असार २८ गते अदालतको फैसलाबाट प्रतिनिधिसभा पुनस्र्थापित भएपछि असार २९ गते प्रधानमन्त्रीमा देउवा नियुक्त भएका थिए । संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते दिनको १ बजे बस्नेछ ।

‘लोकतन्त्रको विजय भयो’
सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताले प्रतिनिधिसभामा आज सम्पन्न मत परिणामले संविधान र लोकतन्त्रको विजय भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले आजको परिणामले पटकपटक प्रतिनिधिसभा विघटन गलत भएको पुष्टि गरेको बताए । उनले भने, “संविधानको पक्षमा दलहरूले अभिमत दिएका छन् ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्योल र सङ्कटग्रस्त राजनीतिमा सुधार हुने विश्वास व्यक्त गरे ।
उता, एमाले नेता गोकुल बाँस्कोटाले सरकार परिवर्तन सामान्य घटना भएको र आगामी दिनमा राजनीतिले लिने गतिका आधारमा टिप्पणी गरिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू