शनिबार, जेठ १, २०७८
11:42 | १६:२७

अब प्रतिशोधको सट्टा सिर्जनात्मक राजनीति

गणेश पुन अप्रिल १८, २०२१

गणेश पुन

राजनीतिक ‘डबलीको रंगमञ्च’ मा हाम्रा नेताहरुको प्रहर्सन निरन्तर जारी छ । यथार्थ हो ओली सरकारमा प्रतिपक्ष कांग्रेसको भूमिका गौण र शून्य नै देखियो । भन्नै परेन, प्रम केपी ओलीलाई हटाउन आफ्नै पार्टीभित्र सरकार परिवर्तनको छक्कापन्जा खेल शुरू भएपछि यो राजनीतिक प्रहर्सन अझ लम्बिंदो र 
रंगीलो बन्दै गएको हो ।

सरकारको काम 
गराइमा स्वेच्छाचारिता र स्वयं प्रम ओलीको 
प्रवृत्तिमाथि अनेक टिप्पणीहरु बर्षिरहेपनि उनी सहिष्णु हुनुको साटो आफ्ना विरोधी गुटविरुद्ध निरन्तर कटाक्ष र गिल्ला गर्न छाडेका छैनन् । ओलीको यो राजनीतिक चरित्रको भूमिकाले चिढिएका विरोधी पक्ष यतिखेर ओलीविरुद्ध सम्भव भएजति जे हर्कत पनि गर्ने स्थितिमा उभिएका छन् जसका कारण देशको पूरै राजनीति अहिले पेन्डुलम बनेर झुलिरहेको अवस्था छ । यो अवस्था सिर्जित हुनुमा एक्लो प्रम ओलीमात्र जिम्मेवार छन् भन्न मिल्दैन् किनकि उनका कमजोरीलाई छोपेर ओलीको देवत्वकरण गर्न उद्धत उनकै गुट र आन्तरिक कलह सिर्जना गरि सरकार परिवर्तन गर्न उद्धत समूह पनि उत्तिकै जिम्मेवार देखिन्छन् ।

यसैबीच राजनीतिक परिघट्नाहरुका केही ‘एपिसोड’ हरुलाई नियाल्दा पनि नेपाली राजनीति र यसभित्र खेल्ने पात्रहरुको चारित्रिक मनोदशाको अवस्थालाई चित्रण गर्न त्यति गाह्रो छैन् । समग्रमा नेपाली राजनीतिको विशेषता नै प्रतिशोध र इगोको राजनीति हो त्यो हाम्रा नेताहरुको चरित्र र तिनले स्थापित गर्न खोजिरहेको संस्कृतिले इंगित गर्दछ, जुन राजनीतिले जनतासंग जोडिनेभन्दा पनि जनतालाई नेताहरुबाट विकृत बनाउने काम गर्दछ। देशका विद्यमान हरेक राजनीतिक पार्टी नै बेमेल व्यक्तिहरुको क्लबजस्तो प्रतीत हुन्छ जसले व्यक्तिको सुविधा र स्वार्थलाई नै बढी महत्व दिने गर्छ ।

सामान्य एउटा क्लबको सदस्यता प्राप्त गर्न क्लबले व्यक्तिको चारित्रिक पृष्ठभूमिसहित अनेक सूचना र तथ्यहरुको आवश्यकता र अपेक्षा राख्दछ र ठान्दछ भने हाम्रो देशका राजनीतिक पार्टीहरुले यै सामान्य नियमलाई अवलम्बन गरेपनि देशमा व्यप्त बेथिति धेरै कम हुने सम्भावना हुन्थ्यो । हाम्रा नेताहरुका जीवन शैली फेरिएको छ तर सोच र चिन्तन उही र उस्तै रहयो । उनीहरुका हावभावबाट लाग्छ–नेताहरु कुनै राजनीतिक पार्टीका सदस्य होइनन् बरु कुनै सम्पन्न क्लबका सदस्यहरु हुन् । झनै जनयुद्धका नायक र योद्धा भनिनेहरुको हावभावहरुमा यो परिवर्तित शैली बढी देखिनु अनौठो दृश्य लाग्दछ ।

जस्तो कि- वर्षमान पुनको टाइधारी शैलीले उनलाई फरक उचाई प्रदान गरेको आभास हुन्छ, त्यस्तै प्रचण्डको हावभावबाट लाग्छ के उनी सांच्चिकै जनयुद्धका नायक थिए या मात्र कुनै मिथक पात्र ? यस्ता धेरै पात्रहरुका दृष्टान्त र तिनका चरित्रहरुले नेपाली राजनीतिको समूल चित्रलाई पुनरावोलकन र पुनर्मूल्यांकन गर्नुपर्ने प्रशस्त आग्रह राख्दछ । नेपाली राजनीतिका चरित्र पात्रहरु आखिर यिनै हुन् जसलाई हाम्रो निन्दा र उपेक्षाले परिवर्तन भइहाल्ने होइनन् यद्यपि चरित्र पात्रहरुको सोच, चिन्तन र भूमिकामा सकारात्मक परिवर्तन आवश्यक छ ।

आफ्नो राजनीतिक पहिचान वा लिगेसी बनाउन राजनीति गरिन्छ र यस्तो राजनीति आफैंमा सृजनशील, आयमिक र गतिशील हुन्छ । नत्र भने राजनीति दिकदारी र प्रतिशोधी नै बन्ने हो । पूर्णकालीन राजनीतिमा लागेर राष्ट्र र जनताको सेवा गर्छु भन्नेहरुमा निष्ठा र समर्पणभाव हुनुपरयो र यो स्वयं आफैंभित्र वोधन वा इनलाइटमेन्ट नआइकन सम्भव छैन् । नेपाली राजनीतिक इतिहासमा कमसेकम विपी कोइरला उनको जीवनकालसम्म यिनै कुराका लागि साधनारत बने र आफ्नो पोलिटिकल लिगेसी बनाएर छाडिगए भन्न सकिन्छ । त्यस्तैगरि सन्त नेता कृष्ण प्रसाद भट्टराईका आध्यात्मिक चेत र राजनीतिक ज्ञान-अनुभवको नेपाली राजनीतिमा गज्जवको संयोजन र सृजनात्मक प्रयोग भएको मान्दा उनको राजनीतिक पहिचान झल्किन्छ । यति भन्दैमा यी दुई राजनेताहरुलाई यहांनेर ग्लोरिफाई गर्न खोजिएको होइन् । तथापि आजका हाम्रा आत्मरतिक नेताहरुका लागि यो मननयोग्य हुनसक्छ ।

वर्तमान प्रधानमन्त्री केपी ओलीले कस्तो ‘पोलिटिकल लिगेसी’ बनाई छोड्लान त्यो भोलिका दिनमा हेर्न-पढ्न पाइएला । यद्यपि उनका केही राजनीतिक क्रियाकलापहरु निसन्देह आलोच्य छन् । त्यति हुंदाहुंदै पनि नेपाली राजनीतिबाट निरस र उदासीन बन्दै गएको पुस्ता र समूहका लागि यो आकर्षक र रोचक बन्नसक्छ यदि यसलाई सकारात्मक रुपमा उपयोग गर्न सके । प्रम ओलीको असंवैधानिक भनिएको राजनीतिक कदमका कारण नेपाली राजनीतिकवृत्तमा अनेक वहस र तर्क निरन्तर जारी छ मात्र होइन नेताहरु कति पानीमा छन ? कुन धान कुन भुस ? जनताले थाहा पाउने अवसर पनि भयो यसलाई पनि सकारात्मक मानौं ।

यसको अर्थ ओलीका राजनीतिक जवाफदेहीतालाई वेवास्ता गरे हुन्छ भन्ने नलागोस् उनको काम र आचरणलाई हरेक कोणबाट निगरानी हुन र मूल्यांकन हुन आवश्यक छ । परन्तु उनका किस्सा, उखान टुक्का र कटाक्षरूपी सम्प्रेषण शैलीको उपेक्षा गर्नु त्यति आवश्यक देखिन्न किनकी उनको यिनै लत, शैली सम्प्रेषण र विचार नै भोलि राजनीतिक पहिचान पो बन्ने हुन् कि । बरु हाम्रा अरु नेताले पनि आफ्नो फरक राजनीतिक पहिचान आजबाट खोजी गरे राम्रो होला । अचेल सडक, सदन, सञ्जालमा र नेता जनता सबैका सबै कसले बढि उपेक्षित भाषा बोलेर चिच्याउने होडबाजीको लहर चलेको देखिन्छ ।

त्यसैले हाम्रो देशका नेता प्रधानमन्त्रीहरु पनि यसो गर्नु अस्वाभाविक भएन तर प्रश्न हो हामीले कस्तो संस्कृति निर्माण गर्ने ? देशको प्रमुख नेतालाई नकारात्मक रुपबाट दुत्कार्ने संस्कारलाई टेवा दिनुभन्दा पनि नेताका राम्रा पक्षलाई अभिलेखिकरण गर्ने र दुर्बल पक्षलाई सिर्जनात्मक आलोचना गर्ने संस्कारको विकास भएको मुलुकहरु नै आज विकसित राष्ट्रका रुपमा दर्ज छन् । हामीमा पनि यो संस्कारको शुरूवात हुनसके कति फलदायी हुनेथियो ।

अन्त्यमा, राजनीतिक डबलीको प्रहर्सनमा केपी ओलीलाई दर्शकहरुको अभाव अझै खट्केको देखिन्न यद्यपि उनले आफ्नो प्रहर्सनको विषयवस्तु र प्रस्तुतिलाई अव नवीकरण नगर्ने हो भने चाहिं यो अवस्था धेरैबेर नरहन सक्छ । किनकी उनका लागि ताली कम बज्न शुरू भएको संकेत देखिन्छ । यसर्थ प्रम केपी ओलीले आफ्नो राजनीतिक पहिचान जोगाउन र बनाउन पनि आफ्ना कमजोरीलाई स्वीकारेको राम्रो । आफ्ना कमजोरी स्वीकार्नु पनि बडो सिर्जनात्मक काम हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू