शनिबार, साउन १२, २०८१
06:20 | ११:०५

बेलायती नेपाली समाजको समुल कल्याणका निम्ति एनआरएनए अध्यक्षमा मेरो उम्मेदवारी: खड्का

नेपाली लिङ्क अप्रिल १२, २०२१

लन्डन । एनआरएनए यूकेका उपाध्यक्ष तथा समाजसेवी सुनिल खड्का आगामी नेतृत्वका लागि अग्रसर भएका छन् । 

खड्काले संघको जुलाइमा आउने नयाँ नेतृत्वका लागि साथीभाइ तथा शुभेच्छुकहरुको समर्थन र सहकार्यका साथ अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको उनले बताए । 

बेलायतमा बसोबास गरिरहेका नेपाली तथा एसियन मुलका नागरिकहरुमाझ सहयोग तथा सहृदयी छबि बनाएका खड्का एनआरएनए यूके च्यारिटी विभागका संयोजकका रुपमा कार्यरत छन् । 

बेलायत र छिमेकी मुलुकहरुमा बसोबास गरिरहेका नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहँदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनले बताए । ‘निस्वार्थ भावले मैले संस्थामा जति काम गरें, त्यो अझ पर्याप्त भए झैं लागेन । अब अध्यक्षको नेतृत्व लिएर यसलाई थप उचाई र अर्थ दिने मेरा योजनाहरु रहेका छन्’, खड्काले भने । 

अहिले सतहमा आएका अन्य सम्भावित उम्मेदवारहरुको तुलनामा खड्का च्यारिटी कर्ममा अझ बढी सक्रिय रहेकाले र बेलायतमा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागिरहेकाले पनि नेतृत्व लिन उत्साहित भएको खड्काले बताए । ‘तर मलाई समस्त नेपाली समुदाय, मतदाता र सञ्चारकर्मीको साथ महत्वपूर्ण रुपमा आवश्यक पर्दछ । म उहाँहरु सम्पूर्णलाई आवश्यक सहयोग गरिदिन पनि अपिल गर्दछु’, उनले भने ।

एनआरएनए यूकेको एउटा समूह अहिले मुद्दा मामिला र अनावश्यक राजनीतिमा अल्झिरहँदा उनी सदस्यता संख्या विस्तारमा सक्रिय भइरहेका छन् । बेलायतको नेपाली समुदाय राजनीतिक, सामाजिक तथा जातीय रुपमा विभाजित छ । एनआरएनए यूकेभित्रको किचलो त झन् बढी सतहमा आएको देखिन्छ । संघभित्रको आन्तरिक विवादमा समेत आपसी एकतालाई जोड दिंदै नेपाल र नेपालीको हितार्थ पक्षधर खड्काले समाजलाई एक ढिक्का बनाउन, नेपालीका हक हितमा काम गर्न र मातृभूमिको समृद्धिका लागि वास्तविक नेपाली शक्ति परिचालनमा पनि संघको नेतृत्व लिन आवश्यक रहेको बताए ।

नेपाली र बेलायती समुदायबीच समायोजनमा उल्लेख्य भूमिका निर्वाह गरेका उनी नातावाद, कृपावाद र राजनीतिक प्रभावबाट अलग छन् । ‘समाजसेवालाई साथीहरुले आफ्नो स्वार्थसंगमात्र जोडे । आफू अनुकुलका काममा अग्रसर हुने तर आपतविपतमा जहिले पन्छिन खोज्ने प्रवृत्ति देखियो जुन दुर्भाग्यपूर्ण छ’, खड्का भन्छन्, ‘मलाई केन्द्रमा गएर खादा माला लगाउनु पनि छैन् । राजनीति गर्नु पनि छैन् । न कसैको चाकडी गरेर पदमात्र ओगट्नु छ । म बरु सकेको समाजलाई दिन्छु ।’

वकिङमा बसोबास गरिरहेका सक्रिय उद्यमी तथा समाजसेवी खड्काको च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता छ । बिगत दुई दशकदेखि बेलायतमा सपरिवार बसोबास गरिरहेका खड्काले लकडाउनका समयमा आफूलाई फेरि निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । अहिले पनि त्यो क्रम जारी छ । 

लकडाउनले विशेषतः हस्पिटालिटी क्षेत्र संकटमा रहेका बेला त्यो पीडा बिर्सेर न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएका थिए । ‘भ्यालेन्टाइन डे’ मा सरप्राइज चकलेट गिफ्ट दिएर नयाँ शैली अपनाएका थिए ।

उनले स्थानीयस्तरमा सातवटा विद्यालयका विद्यार्थीहरु र कर्मचारीलाई पाँच हजार निःशुल्क स्यानिटाइजरका बोतलहरु बाँडेका थिए जसको स्यावासी उनले जन्मभूमि नेपाल र कर्मभूमि देश बेलायतबाट धेरै पाए ।

घरबारविहीनहरु र दिर्घरोगीहरुका निम्ति आश्रयस्थल मानवसेवा आश्रमका गतिविधिहरुमा पनि खड्काले खुलेर सहयोग गरिरहेका छन् । चितवनस्थित मानवसेवा आश्रमलाई उनको निरन्तर आर्थिक सहयोग रहिआएको छ ।

बेलायतमा उठाइने हरेक कार्यक्रमहरुको चन्दा दाताको सूचीमा उनको नाम अनिवार्यरुपमा देखिएकै हुन्छ । खड्का प्रोपर्टी विजनेशमा समेत संलग्न छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू