शुक्रबार, चैत १६, २०८०
09:53 | १५:३८

अमिबाजस्तै माया

गोपी सापकोटा मार्च १८, २०२१


दोस्रो वर्षको पहिलो दिन । चिरायु सरासर क्याम्पस पुग्यो । उ पुग्दा थोरै ढिलो भइसकेको थियो । सरासर नोटिस बोर्डमा गयो । दोस्रो वर्षको रुटिन हेर्यो । पहिलो पिरियड अनिवार्य अङ्ग्रेजीको थियो । कक्षा कुन कोठामा हुँदै थियो, पत्ता लगायो । घडि हेरयो । करिब दश मिनेट ढिलो भइसकेको थियो । पढ्ने कक्षामा पसौं कि पसौं भनेर दोधारमा परयो ।

चिरायुले सोच्यो –घरबाट पढ्न नै भनेर आइसकियो । दश मिनेट ढिलो कक्षामा छिर्दा त्यही दश मिनेट मात्रै त छुट्ने हो नि । बाँकी समय त पढ्न हुन्छ ।

उ आफ्नो कक्षामा गयो । ढोकाको बाहिरबाटै हेरयो, सरले पढाउन शुरु गरिसकेका थिए । उ कक्षाको पछाडिको ढोकाबाट खुसुक्क पस्यो । सरले देखे पनि वास्ता गरेनन् ।

क्याम्पसमा स्कुलमा जस्तो अनुशासन पालन गर्नु पर्दैनथ्यो । कक्षामा पस्दा स्कुलमा जस्तो ‘के भित्र आउन सक्छु’ भनेर सोध्न पर्दैनथ्यो । बाहिर जाँदा पनि ‘के म बाहिर जान सक्छु’ भनेर सोध्नु पर्दैनथ्यो । ठूलो हुनु र क्याम्पस पढ्नुको फाइदा त्यही थियो । क्याम्पस स्कुलजस्तो थिएन ।

कक्षामा पसिसकेपछि उ चुपचाप पछाडिको एउटा बेन्चमा बस्यो । सरले पढाएको कुरा सुन्न थाल्यो ।उसका कानले सरले पढाएको कुरा सुने पनि आँखाहरुले अरु नै कुरा हेर्न खोज्दै थिए, दिमागले अरु नै कुरा सोच्दै थियो ।

उसले पछाडिबाट अगाडि हेरिरहेको थियो, मानौ उ सरले पढाएको कुरामा गहिरो ध्यान दिंदै थियो । उसका आँखा केटीहरु बस्ने बेन्चमा अडिए । बेन्चमा चारजना केटीहरु थिए । उसका आँखाले सन्ध्यालाई खोजिरहेका थिए । उसलाई ती चार जना मध्ये एक जना सन्ध्याजस्तै लाग्यो ।

केही बेर पछाडिबाट उसले सन्ध्या ठानेकी केटीको चुल्ठोमा हेरिरह्यो । त्यसपछि सरले पढाएको कुरामा ध्यान दिन थाल्यो । उसले पढाईमा जति ध्यान दिन खोजे पनि उसको ध्यान पुरै पढाईमा बस्न सकेको थिएन ।

कतिखेर कक्षा सकिएलाजस्तो भएको थियो । कतिखेर सन्ध्यालाई भेटुँजस्तो भएको थियो । कतिखेर उसँग धित मरुन्जेल कुरा गरुँ जस्तो भएको थियो ।उसले पछाडिबाट हेरेर सन्ध्या ठानेकी केटी सन्ध्या नै थिई । उसले सरले पढाएको कुरा ध्यान दिएर सुनिरहेकी थिई ।

कक्षामा सर पस्नु भन्दा पहिलेदेखि नै सन्ध्याका आँखाले चिरायुलाई खोज्दै थिए । उसले दायाँ बायाँ हेर्दै थिई । अगाडि पछाडि हेर्दै थिई । तर चिरायु आइपुगेको थिएन । उसको कुनै खबर थिएन । उ आउँदै थियो कि थिएन, सन्ध्यालाई थाहा थिएन ।

चिरायुको मनमा सन्ध्याका बारेमा प्रश्नहरु भएजस्तै, सन्ध्याको मनमा पनि चिरायुको बारेमा प्रश्नहरु थिए । उ सोच्दै थिई, उसले चिरायुलाई प्रशस्त प्रश्नहरु सोध्ने छे, जस्तो कि–उ किन उसकै बिहेको दिन घरबाट भाग्यो ? के उसले उसलाई अझै प्रेम गर्दैछ ? उसले गर्ने प्रेमको अब कुनै औचित्य छ ? प्रेमको कुनै अर्थ छ ? के उसले उसको घरबार बिगार्न चाहन्छ ?

सन्ध्याले चिरायुकै मुखबाट सुन्न चाहन्थी ।

कक्षा सकियो । पढाउने सर कक्षाबाट बाहिरिए । कोठाभित्रका बिद्यार्थीहरु आ–आफ्नो सिटबाट उठे । उनीहरु पनि बाहिरिए ।

चिरायुले पहिलो बेन्चमा हेर्यो । उसको मनमा एउटा कुरा लुकेर बसेको थियो । सोच्दै थियो –सन्ध्याले के गर्छे ? उसले मलाई खोज्छे कि खोज्दीन ? के मैले उसको बारेमा सोचेजस्तै उसले पनि मेरो बारेमा सोच्दैछे ?

सन्ध्या कोठाको पछाडि फर्की । कक्षामा धेरै बिद्यार्थी थिएनन् । कक्षाको अन्तिम बेन्चमा बसेको चिरायुलाई चिन्न उसलाई कुनै गाह्रो भएन ।

चिरायुले झ्याल बाहिर हेरिरहेको थियो । सन्ध्याले उसलाई खोजेको थाहा पाएपछि उसका आँखा कोठाबाट बाहिरिएका थिए । झ्याल बाहिर हेर्नै पर्ने कुनै रोचक कुरा थिएन ।
सन्ध्या सरासर अन्तिम बेन्चमा आई । चिरायु अगाडि फर्कियो । सन्ध्या उसकै अगाडि थिई । उनीहरु दुबैका आँखा जुधे । उनीहरु दुबैले अघिदेखि एक अर्कालाई सोध्छु भनेर सोचेका कुराहरु एक अर्कालाई देखेपछि उनीहरुको मस्तिष्कमा कतै हराए ।

‘ए चिरायु । के छ हालखबर ?’ सन्ध्याले सोधी ।
‘सन्ध्या ।’
‘अनि किन पछाडि बसेको ?’
‘छुटेको मान्छे पछाडि त पर्छ नि, होइन ।’ चिरायुले भन्यो ।

‘त्यस्तो होइन । पछाडि बसेको बिद्यार्थीले जति धेरै अगाडिका कुराहरु देख्छ, त्यति कक्षामा अगाडि बस्नेहरुले देख्दैनन् । त्यसैले व्याकबेन्चरहरु धेरै कुरामा अगाडि हुन्छन् । जस्तो कि अहिले कै कुरा गरौं न । तिमीले मलाई पहिले नै देखिसकेका थियौ । मैले तिमीलाई देख्न अलि समय लाग्यो । तिमी धेरै देख्ने भइसकेका छौ, चिरायु ।’ सन्ध्याले भनी ।
‘वाह सन्ध्या । तिमीले मलाई फुक्र्यायौ ।’ चिरायुले भन्यो ।

‘अनि तिमीलाई मेरै बिहेको दिन किन हराउनु पर्ने नि ?’ सन्ध्याले सोधी ।
‘म कहाँ हराएको थिएँ ? बिहेमा आएकै थिएँ त ।’ चिरायुले भन्यो
‘त्यो त मलाई थाहा छ । मैले तिमी बिहेमा आएनौ भनेर भनेकी होइन । तर मलाई अन्माएपछि तिमीले घर छोडेर कहाँ गएका थियौ ? गाउँ छोडेर कहाँ गएका थियौ ? मेरै बिहेको साँझ किन हराउनु परेको तिमीलाई ?’ सन्ध्याले प्रश्नहरु बर्साई ।

‘हेर सन्ध्या, तिमीले आफ्नो बाटो रोजेपछि मैले पनि त आफ्नो बाटो रोज्नु पर्यो नि त । म हराएको थिइन, बाटो खोज्दै थिएँ । साँच्चै भन्ने हो भने म तिमीलाई बिर्सने कोसिस गर्दै थिएँ ।’ चिरायुले भन्यो ।
‘सक्यौ त ?’
‘सकिन ।’
‘किन ?’ सन्ध्याले सोधी ।
‘मेरो साधना पुगेन । कुनै दिन पुग्नेछ ।’ चिरायुले भन्यो ।
‘मलाई बिर्सने कुरा दोस्रो कुरा हो चिरायु । पहिलो कुरा त तिमीले आफ्नो बाटो खोज्नु हो । बाटो भेट्नु हो । भेटिएको बाटोमा हिंड्नु हो । आफू हिडेको बाटोमा अरुलाई पनि हिडाउनु हो । तिम्रो यात्रा सजिलो छैन ।’ सन्ध्याले भनी ।
‘तिमीले मेरो कुरा बुझेकी छ्यौ, सन्ध्या ।’ चिरायुले भन्यो ।

‘चिरायु, तिमीलाई त थाहा नै छ नि । तिम्रो लक्ष्य प्राप्तीका लागि मैले आफूले आफूलाई नै बलिदान दिइसकेकी छु । म तिमीले आफ्नो लक्ष्य प्राप्त गरेको हेर्न चाहन्छु ।’ सन्ध्याले भनी ।
‘तिम्रो शुभकामना मेरो जीवनभर रहिरहनेछ । अनि एउटा कुरा नि सन्ध्या ?’
‘के कुरा, सोध न ।’
‘बिहेपछि कस्तो अनुभव गर्दैछौ ?’ चिरायुले मनमनै सोध्छु भनेको कुरा सोध्यो ।
‘खै कस्तो, कस्तो ।’ सन्ध्यालाई के भन्ने जस्तो भयो । उ एकछिन चुप लागी । केही पनि बोलिन । चिरायु पनि केही बोलेन ।
सन्ध्याले एकछिन पछि भनी, ‘थाहा छ, चिरायु । माया त अमिबाजस्तै पो हुँदो रैछ नि ।’
‘कसरी रे ?’

‘एउटै अमिबा टुक्रिएर दुईटा बन्छन् । अनि ती टुक्रिएका दुई अमिबा आफैमा पूर्ण हुन्छन् नि ।’ सन्ध्याले भनी ।
‘मैले त अलि बुझिन । सिधै भन न सन्ध्या ।’ चिरायुले भन्यो ।
‘कुरा के भने नि, हामीले एकैपटक दुई जना मानिसलाई माया गर्न सक्दारहेछौं नि ।’ सन्ध्याले भनी ।
‘हो र ?’ चिरायुले भन्यो । उसलाई झलक्क सारिकाको याद आयो ।

(बेलायतवासी स्रष्टा गोपी सापकोटाको हालै प्रकाशित उपन्यास ‘काँचो कागज’को एक अंश)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू