शनिबार, वैशाख १५, २०८१
04:04 | ०८:४९

नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

रासस मार्च १८, २०२१

उदयपुर । जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा रु चार हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदयपुरले बताएको छ ।

गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशअनुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

यसैबीच, अठहत्तर वर्षीया एक वृद्धालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत बागलुङले जिल्लाको गलकोट नगरपालिका–१ का २६ वर्षीय बुलबहादुर विकलाई तीन वर्ष छ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको मंगलबारको एकल इजलासले कसुर ठहर गर्दै जबरजस्ती करणी उद्योग कसुरमा आरोपितलाई तीन वर्ष छ महिना कैदसहित पीडितलाई रु २५ हजार क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए ।

पीडित वृद्धालाई आरोपित विकले २०७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । त्यसलगत्तै प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत २०७६ भदौ २६ गते जिल्ला अदालत बागलुङमा जबरजस्ती करणी उद्योग अभियोगमा मुद्धा दर्ता गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू